सागर वि.क.(वैखरी अनलाईन) : कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं.२ ले वृद्धवृद्धाहरुलाई ज्याकेट र न्यानो सल बितरण गर्ने कार्यक्रम सम्पन्न गरेको छ । आज (बुधबार) बैजलपुर र नन्दनगर टोल विकास संस्थाका ३५ जना आमाहरु तथा ३६ जना बुवाहरुलाई ज्याकेट र न्यानो सल बितरण गर्दै कार्यक्रम सम्पन्न गरिएको हो ।
आज(बुधबार) सम्म २०४ जना आमाहरु र १९७ जना बुवाहरु गरि जम्मा ४०१ जना वृद्धवृद्धाहरुलाई ज्याकेट र न्यानो सल बितरण गरिएको वडा अध्यक्ष विष्णु प्रसाद पौडेलले बताउनुभयो । चिसो बढ्न लागेको र यस मौसममा सबै भन्दा बढी बालबालिका र जेष्ठ नागरिक प्रभावित हुने भएकाले ‘ज्याकेट’ र न्यानो ‘सल’ वितरण गरिएकोे वडा अध्यक्ष पौडेलले बताउनुभयो । वडाले विगतका वर्षहरुमा पनि जेष्ठ नागरिकको सम्मानका लागि विशेष कार्यक्रम संचालन गरेको र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभएको छ ।
यो अवस्थामा जेष्ठ नागरिकलाई घरपरिवारको माया, साथ सहयोगको आवश्यक पर्ने भएकाले वृद्धवृद्धाहरुप्रति सहयोगी भावना राख्न वडाध्यक्ष पौडेलले आग्रह गर्नुभएको छ । वृद्धवृद्धाहरुले हासिल गरेका अनुभवबाट युवा पुस्ताले धेरै कुरा सिक्न आवश्यक रहेको भन्दै वडाध्यक्ष पौडेलले वृद्धवृद्धाहरुको सम्मानमा कहिल्यै चुक्न नहुने बताउनुभयो । ‘वृद्धवृद्धाहरुले हासिल गर्नु भएका अनुभवबाट अहिलेका युवा पुस्ताले धेरै कुरा सिक्न आवश्यक छ, वडाध्यक्ष पौडेलले भने, वृद्धवृद्धाहरुको सम्मानमा हामी कहिल्यै चुक्न हुदैंन् ।’
वडाध्यक्ष पौडेलले यस कार्यक्रममा सहयोग गर्नहुने वडा समिति, राजनैतिक दलका प्रतिनिधि, टोल बिकास संस्था, वडा सचिब र वडा कार्यालयका कर्मचारीहरुलाई धन्यवाद दिनुभएको छ । यता वृद्ध आमाबुवाहरुले ‘ज्याकेट’ र न्यानो ‘सल’ पाएपछि खुशी व्यक्त गर्दै पौडेल जस्तो वडाध्यक्ष पाउँदा निकै खुशी महसुस भएको बताएका छन् ।








