प्रभावकारी नीति, व्यावहारिक कार्ययोजनालगायत कारणले आन्तरिक बजारमा विद्युतको माग उल्लेखनीय रूपमा वृद्धि भएको छ। हरेक वर्ष औसतमा २० प्रतिशतका दरले विद्युतको माग बढेको पाइएको छ।
विद्युत् खपत बढाउन चालिएका कदम र जाडो बढेसँगै विद्युतको आन्तरिक माग ह्वात्तै बढेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। प्राधिकरणले उपलब्ध गराएको तथ्यांकअनुसार गत वर्षको तुलनामा यस वर्ष विद्युतको उच्च माग ९पिक डिमान्ड० ३०० मेगावाटको हाराहारीमा बढेको छ। आन्तरिक रूपमा उत्पादन भएको विद्युत् खपत गर्न नसकी खेर जाने अवस्था आएपछि खपत बढाउन विद्युतीय उपकरणको प्रयोग बढाउने र उद्योगलाई चाहिएजति विद्युत् उपलब्ध गराउने नीति लिई सोहीअनुसार काम भइरहेको छ।
विद्युतीय चुल्हो, एयर कन्डिसनलगायत विद्युतबाट चल्ने घरायसी सामानको प्रयोगमा वृद्धि भएको पाइएको छ। सरकारीस्तरबाट चार्जिङ स्टेसन निर्माणको प्रक्रिया अगाडि नबढेको भए पनि निजी क्षेत्रले आफ्नै पहलमा चार्जिङ स्टेसन निर्माण गरिरहेका छन्। त्यसले विद्युतबाट सञ्चालन हुने यातायातका साधनको वृद्धि भएको छ।
ठूला उद्योगलाई मागअनुसारको बिजुली उपलब्ध गराइएको छ। उद्योगले पर्याप्त विद्युत् पाएका कारण उत्पादन क्षमतामा वृद्धि भएको छ। त्यसबाट दैनिक रूपमा खपत बढिरहेको छ। प्राधिकरणले कात्तिकको अन्तिम सातादेखि नै देशकै ठूलो सिमेन्ट उद्योग होङ्सीलाई ३० मेगावाट विद्युत् उपलब्ध गराएको छ। चिनियाँ लगानीको अर्को हुवासिन सिमेन्ट उद्योगले पनि २० मेगावाट बिजुली जोडेको छ।
विद्युतको माग क्षमता ९मेगावाट० र ऊर्जा ९युनिट० दुवै बढिरहेको छ। मंसिर २७ गते प्रणालीमा विद्युतको उच्च माग एक हजार पाँच सय ३९ मेगावाट थियो। गत वर्षको सोही दिनको माग एक हजार दुई सय १७ मेगावाटको थियो। गत वर्षको तुलनामा यो तीन सय २२ मेगावाट बढी हो। यस आधारमा विद्युतको पिक डिमान्ड गत वर्षको सोही दिनको तुलनामा २६।५ प्रतिशतले वृद्धि भएको छ। गत मंसिर २७ गतेको प्रणालीको पिक डिमान्ड पूर्तिका लागि प्राधिकरणका विद्युतगृहबाट पाँच सय ४० मेगावाट, प्राधिकरणका सहायक कम्पनीका विद्युतगृहबाट पाँच सय २९ मेगावाट, निजी क्षेत्रका विद्युतगृहबाट चार सय २५ मेगावाट र भारतबाट २५ मेगावाट आयात गरिएको थियो। सोही दिन पिक समयमा पनिचार मेगावाट विद्युत् भारततर्फ निर्यात गरिएको थियो।
विद्युत् बढी खपत हुने काठमाडौं उपत्यकासहित आसपासको क्षेत्रमा विद्युत् माग पनि ह्वातै बढेको छ। काठमाडौं उपत्यकामा विद्युतको अधिकतम माग ९० मेगावाटको हाराहारीमा वृद्धि भएको छ। गत वर्ष दुई सय ९३ मेगावाट रहेको काठमाडौं उपत्यकाको पिक डिमान्ड यस वर्ष तीन सय ८२ मेगावाट पुगेको छ। यसले पनि काठमाडौं उपत्यकामा पनि उल्लेख्य रूपमा बिजुलीको मागमा वृद्धि भएको देखिन्छ। उपत्यकामा विद्युतीय चुल्होको प्रयोगमा वृद्धि भएको पाइएको छ। ऊर्जाका मागका आधारमा मंसिर २७ गते विद्युत् खपत दुई करोड ७२ लाख युनिट थियो। यो खपत गत वर्षको सोही दिनको दुई करोड ११ लाखको तुलनामा ६१ लाख युनिट बढी हो। ऊर्जाका आधारमा विद्युत् खपत गत वर्षको तुलनामा २८।६५ प्रतिशतले बढी हो।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गत वर्षको तुलनामा यस वर्ष ३० प्रतिशतको हाराहारीमा पिक डिमान्ड बढ्नु ठूलो उपलब्धि भएको बताए। ‘घरायसी प्रयोजनका लागि इन्डक्सन चुल्हो तथा घरमा एयर कन्डिसनको प्रयोग बढिरहेको छ। विद्युतीय सवारी साधनको प्रयोग बढ्दा चार्जिङ स्टेसन विस्तार भइरहेको छ। औद्योगिक क्षेत्रमा पर्याप्त विद्युत् उपलब्ध गराउने प्रयाससँगै लोडको माग बढिरहेको छ,’ उनले भने । उनले विद्युतको माग अहिलेकै रूपमा वृद्धि भयो भने चालू आवको अन्त्यसम्ममा दुई हजार मेगावाटको हाराहारीमा पुग्न सक्ने देखिएको जानकारी दिए। -रासस








