गृहपृष्ठ Featured सर्वदलीय बैठक : एमालेलाई सम्वादमा आउन आह्वान

सर्वदलीय बैठक : एमालेलाई सम्वादमा आउन आह्वान

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले आह्वान गरेको सर्वदलीय बैठकले संसद् नियमित गर्न दिन प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)लाई आह्वान गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा साँझ बसेको बैठकका निर्णयबारे जानकारी दिँदै नेपाल सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसद् निरन्तर अवरुद्ध हुँदा नियमित कामका साथै जनअपेक्षासमेत प्रभावित भएकाले जननिर्वाचित संस्थालाई लामो बन्धक बनाउनु उचित नहुने सर्वदलीय निष्कर्ष रहेको जानकारी दिए।

यद्यपि उक्त बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने सहभागी थिएन। ‘निरन्तर संसद् गतिरोधका कारण केही महत्वपूर्ण विधेयक र प्रस्तावसमेत अल्झिएका छन्, संसदीय लोकतन्त्रलाई जीवन्त राख्न प्रतिपक्षको भूमिका महत्वपूर्ण हुन्छ,’ बैठकपछि सञ्चारकर्मीमाझ प्रवक्ता कार्कीले भने, ‘सशक्त प्रतिपक्ष हुनुको अर्थ संसद् नै चल्न नदिनु भन्ने होइन, विरोध र असहमति प्रकट गर्ने मूल थलो संसद् भए पनि सिङ्गो संसद्लाई यसरी बन्धक बनाउँदा लोकतन्त्र र संसदीय अभ्याससमेत कमजोर हुन जाने खतरा हुन्छ।’ उनले प्रतिपक्षले उठाएका विषयमा संवाद गर्न र उपयुक्त सहमति खोज्न सरकार तयार रहेको पनि बताए।

अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमससिसी) सम्झौताका विषयमा पत्रकारले सोधेको जिज्ञासामा सरकारका प्रवक्ता कार्कीले सर्वदलीय बैठकमा कसरी अघि बढाएर लैजाने भन्ने विषयमा दलबाट फरक फरक धारणा आएको जानकारी दिए। उनले त्यस विषयमा फेरि छलफल गरेर निष्कर्षमा पुग्ने पनि बताए।

प्रधानमन्त्रीले आमन्त्रण गरेको बैठकमा प्रमुख प्रतिपक्ष सहभागी हुनुपर्नेमा त्यो हुन नसक्नु विडम्बना भएको उनको धारणा थियो।

सम्बन्धित् समाचार