काठमाडौँ : क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले राष्ट्रिय क्रिकेट खेलाडीहरू माथि गरिएको कारबाहीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सोमबार सिप्यानले प्रेस वक्तव्य जारी गर्दै सेन्ट्रल कन्ट्र्याक्टको वर्गीकरणको विषयलाई लिएर हाल देखिएको नेपाल क्रिकेट संघ ९क्यान० तथा क्रिकेट खेलाडीहरूबीचको विवादले क्रिकेटको विकासमै अवरोध पुग्ने बताएको छ । खेलाडीहरूको मागको उचित सम्बोधन गर्नुको सट्टा खेलाडीहरू माथि नै गरिएका कारबाहीहरूले नेपाली क्रिकेटको विकासमा अवरोध पुग्न जाने अवस्था सिर्जना भएको सिप्यानले जनाएको छ ।
अध्यक्ष मनीषराज पाण्डे र महासचिव पारस खड्काद्वारा जारी प्रेस वक्तव्यमा भनिएको छ, ‘क्रिकेट खेलाडीहरूको योगदानको फलस्वरूप आजको दिनमा नेपाली क्रिकेटले विश्व क्रिकेट जगतमा विशेष पहिचान बनाउन सफल भएको कुरा सबैमा विदित नै छ । तथापि खेलाडीहरूले आफ्ना भावना तथा आवाजहरू अगाडि राख्न खोज्दा ती मागहरूको उचित सम्बोधन गर्नुको सट्टा खेलाडीहरू माथि नै गरिएका कारबाहीहरूले नेपाली क्रिकेटको विकासमा अवरोध पुग्न जाने अवस्था सिर्जना भएको छ ।’
त्यस्तै क्यान र खेलाडीहरूको बीचमा रहेको तिक्तता मेटाई खेलाडीहरूको मनोबल उच्च बनाइराख्न र समग्रमा नेपाली क्रिकेटको भलो हुने कदम उठाउनु पर्ने आवश्यकता टड्कारो रूपमा देखिएको सिप्यानको भनाइ छ ।
क्यानले अनुशासन उल्लंघन गरेको भन्दै ज्ञानेन्द्रलाई कप्तान, दीपेन्द्रलाई उपकप्तानबाट पदमुक्त गर्नुका साथै उनीहरूसहित सोमपाल र कमललाई ६ महिनाका लागि ‘सेन्ट्रल कन्ट्र्याक्ट’ बाट हटाएपछि खेलाडी र क्यानबीच संवादहीनता छ । सेन्ट्रल कन्ट्र्याक्टभित्र रहेका खेलाडीले खेलाडी वर्गीकरणविरुद्ध सञ्चारमाध्यममा बोलेपछि नेपाली क्रिकेटको सर्वोच्च निकाय क्यान कारबाही गर्ने उक्त निर्णयमा पुगेको थियो ।








