गृहपृष्ठ Featured बुटवलमा आजदेखि चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा व्यापार मेला शुरु

बुटवलमा आजदेखि चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा व्यापार मेला शुरु

बुटवल: बुटवलमा आजदेखि चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा व्यापार मेला शुरु भएको छ । । स्वाधीन अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगिकरण तथा व्‍यापार विविधिकरण’ मूल नाराका साथ आजदेखि व्‍यापार मेला शुरु भएको उद्योग व्‍यापार संघ बुटवलका अध्‍यक्ष गोबिन्दराज गैरेले बताए ।

उनका अनुसार देवीनगर रंगशाला नजिकको खुलाचौरमा पुस २० गतेसम्म सञ्चालन हुने मेला बिहीबार दिउसो २ बजेपछि उद्‌घाटन गरिनेछ । मेलाका अवलोकनकर्तालाई स्यानिटाइजर र मास्क अनिवार्य गरेर प्रवेश गराउने अध्‍यक्ष गैरेले बताए । मेला उद्‌घाटनअघि बुटवल देवीनगर चौपारीबाट झाँकीसहितको र्‍यालीसमेत निकालिने उनले जानकारी दिए ।

मेलामा स्वदेशी तथा विदेशी उद्योग, कृषि र पर्यटनका ४ सय ७० स्टल रहने संघका उद्योग उपाध्यक्ष विष्णु पाण्डेले बताए । मेला अवधिभर ५ लाख दर्शकले अवलोकन गर्ने र करिब ५० करोड कारोबार हुने संघकी कोषाध्यक्ष अन्जु पाण्डेले बताइन्।

मेलामा एक लाख रुपैयां पुरस्कार राशीको डान्स आइडल, विद्यालयस्तरीय नृत्य प्रतियोगिता, आमा नृत्य प्रतियोगिता र राष्ट्रिय कलाकारहरुको प्रस्तुति आकर्षण रहने सांस्कृतिक संयोजक यमलाल मरासिनीले बताए ।

मेलामा हरेक दिन निःशुल्क दन्त शिविर र रक्तदान गर्ने व्यवस्था मिलाइएको महासचिव पदम जीसीले बताए । दुई वर्षसम्म मेला महोत्सव नहुँदा शिथिल बनेको अर्थतन्त्रलाई चलायमान बनाउन र नेपाली कला संस्कृति संरक्षण तथा पर्यटन पवर्द्धनमा व्‍यापार मेलाले टेवा पुर्‍याउने प्रचार प्रसार संयोजक जनेश पन्थीले बताए ।

कोरोना महामारीका कारण दुई वर्षसम्म बुटवलमा मेला महोत्सवहरु हुन सकेका थिएनन् ।

सम्बन्धित् समाचार