दाङ, पुस ८ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देलले राष्ट्र प्रमुखको रुपमा संवैधानिक राजसंस्था र जनताले प्रत्यक्ष चुनेको कार्यकारी प्रधानमन्त्री देशका लागि आवश्यक रहेको बताएका छन्।
बिहीबार दाङको तुलसीपुरमा राप्रपा दाङले आयोजना गरेको सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देलले राप्रपा अब किनेर सांसद र मन्त्री हुनुपर्ने गलत व्यवस्थाको विरूद्धमा उभिने बताए।
पैसा खर्चेर पदमा पुगेपछि सांसद र मन्त्रीहरूले ‘देश लुट्ने’ गरे भन्दै उनले व्यवस्थामै सुधार गर्न जरुरी रहेको बताए।
‘अब सबभन्दामाथि राष्ट्र प्रमुखको रूपमा राजसंस्था हुनुपर्यो र जनताले सोझै निर्वाचित गर्ने कार्यकारी प्रधानमन्त्री हुनुपर्यो,’ अध्यक्ष लिङ्देलले भने, ‘संसद पूर्ण समानुपातिक र सांसदहरू मन्त्री हुन नपाउने व्यवस्था लागू हुनुपर्छ।’
देशले दिने सेवा सुविधा जातको आधारमा नभई गरिबले पाउने व्यवस्थाको हुनुपर्ने उनले बताए। संवैधानिक अंगहरूमा नियुक्ति योग्यता र क्षमताको आधारमा गर्ने गरी नयाँ ढंगले अगाडि बढ्नु पर्ने उनको जोड थियो।
उनले देशमा प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको नाममा कांग्रेस कम्युनिष्टले बन्धक बनाइरहेको बताए।








