काठमाडौं : यो साता देशको अधिकांश भू-भागमा अधिकतम् तथा न्यूनतम् तापक्रम घट्ने भएको छ। पश्चिमी वायुको प्रभावले देशको धेरै स्थानमा आंशिकदेखि सामान्य बदली रही अधिकांश भू-भागमा अधिकतम् तथा न्यूनतम् तापक्रममा गिरावट आउने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
साताको सुरूमा देशको उच्च पहाडी तथा हिमाली भू-भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। साताको मध्य तथा अन्त्यमा सामान्यदेखि पूर्णतया बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम हिमपात र थोरै स्थानमा भारी हिमपातको समेत सम्भावना रहेको औंल्याइएको छ।
देशको पहाडी भू–भागमा साताको सुरूमा आंशिकदेखि सामान्य बदली रही प्रदेश नम्बर १ तथा बागमती प्रदेशको एकरदुई स्थानमा हल्का वर्षा र साताको मध्य तथा अन्त्यमा सामान्यदेखि पूर्णतया बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा, थोरै स्थानमा मेघगर्जन चट्याङसहित वर्षा र एकरदुई स्थानमा असिनाको समेत सम्भावना छ।
तराईका भू–भागमा साताको मध्य तथा अन्त्यतिर सामान्यदेखि पूर्णातया बदली रही साताको मध्यमा थोरै स्थानमा हल्का वर्षा र साताको अन्त्यमा केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। -रासस