गृहपृष्ठ Featured ए डिभिजन लिगमा संकटाको ब्रिगेड ब्वाइजविरूद्व सहज जित

ए डिभिजन लिगमा संकटाको ब्रिगेड ब्वाइजविरूद्व सहज जित

प्रकाशित मिति:

पुस ११, काठमाडौं : सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा संकटा क्लबले सहज जित निकालेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा आइतबार भएको खेलमा संकटाले ब्रिगेड ब्वाइज क्लबविरूद्व ३-० को जित हात पारेको हो। उसका लागि उत्तम राईले दुई तथा लक्ष्मण रुचालले एक गोल गरे।

खेलको सुरूआतदेखि नै आक्रामक रूपमा प्रस्तुत भएको संकटाले पहिलो हाफमा ३-० को अग्रता लिएको थियो। १२औं मिनेटमा उत्तमले गोल गर्दै संकटालाई १-० को अग्रता दिलाए। जोर्डन जुनियर ओओनाको क्रसमा ‘अनमार्क’ रहेका शक्तिले हेडमार्फत् गोल गर्दा ब्रिगेड ब्वाइजका गोलरक्षक पूर्ण चेम्जोङले रोक्न सकेनन्।

२८औं मिनेटमा उत्तम राईले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गरे। फोडे फोफानाको क्रसलाई ब्रिगेड ब्वाइजका रमेशकुमार राजवंशीले क्लियर गर्न नसकेको बललाई नियन्त्रणमा लिँदै गोल गरे।

३८औं मिनेटमा रन्दिप पौडेलले क्लियर गरेको बललाई लक्ष्मणले नियन्त्रणमा लिँदै गोलरक्षक अघि बढेको अवस्थामा खाली पोस्टमा गोल गरे र खेल ३-० मा पुर्‍याए।

दोस्रो हाफमा दुवै टोलीले गोलका केही अवसर सिर्जना गरेका थिए। तर, गोल निस्कन नसक्दा संकटा ३-० ले विजयी भयो।

जितसँगै संकटा ६ खेलबाट १२ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ। संकटा एक खेल कम खेलेको आर्मीलाई ३ अंकले अघि छ। पराजित ब्रिगेड ब्वाइज ६ खेलबाट ५ अंक जोडेर ११औं स्थानमा झरेको छ। समान ५ अंक नै रहे पनि ब्रिगेड ब्वाइज विभागीय टोली एपीएफभन्दा पछि परेको छ।

सम्बन्धित् समाचार