गृहपृष्ठ Featured सातदोबाटोमाथि जावलाखेलको सानदार जित

सातदोबाटोमाथि जावलाखेलको सानदार जित

प्रकाशित मिति:

काठमाडौं : शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत आज सम्पन्न खेलमा जावलाखेल युथ क्लबले सातदोबाटो युथ क्लबमाथि जित निकालेको छ। त्रिपुरेश्वरस्थित दरशथ रंगशालामा सम्पन्न खेलमा जावलाखेलले सातदोबाटोमाथि २-० को गोलअन्तरले जित निकालेको थियो।

लिगमा राम्रो प्रदर्शन गरेर पनि नतिजा राम्रो निकाल्न नसकेको जावलाखेलले पहिलो पटकको ए डिभिजनमा राम्रो प्रदर्शन गरेर उपाधि दाबेदार टोलीहरुलाई पनि हराएको सातदोबाटोमाथि आज जित निकालेको हो।

खेलको १३ औं मिनेटमा जावलाखेलका रुपबहादुर लामाको प्रहार बारमाथिबाट गएको थियो। त्यस्तै २० औं मिनेटमा जावलाखेलका लोइक एनजीमी कोउवाहिमको प्रहार गोलपोस्टमा ठोक्किएर बाहिरिएको थियो। पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलको ४९ औं मिनेटमा जावलाखेलका विपिन कणेलले अनगुना जुनियरको क्रसमा गोल गरे। दोस्रो हाफमा जावलाखेलले थप दवाब बनाएको थियो।

त्यस्तै दोस्रो गोल खेलको ७० औं मिनेटमा निकोलस फर्नान्डेजले पेनाल्टी क्षेत्रभन्दा केही बाहिरबाट गरेको प्रहारलाई सातदोबाटोका गोलकिपर अभिशेक बरालले जज गर्न नसक्दा गोल हुन पुगेको थियो।

सातदोबाटोले पनि राम्रो प्रदर्शन गरे पनि शशक्त आक्रमण बुन्न सकेन।

जितसँगै लिगका सुरुवाती चरणमा रेलगेशन क्षेत्रबाट माथि उक्लन संघर्ष गरेको जावलाखेल आजको जितसँग तालिकाको नवौं स्थानमा उक्लिएको छ। सातदोबाटो ८ अंकसहित तालिकाको पाँचौं स्थानमा छ।

छैठौ चरण सकिँदा कुन टिम कहाँ ?

जावलाखेल र सातदोबाटोको खेलसँगै छैठौं चरणका खेलहरु सकिएका छन्।

अंकतालिकामा मछिन्द्र क्लब ४ जित दुई बराबरीसहित १४ अंक जोडेर तालिकाको शीर्ष स्थानमा छ। त्यस्तै ४ जित १ बराबरी र १ हार ब्यहोरेको मनाङ १३ अंकसहित तालिकाको दोस्रो स्थानमा छ। तेस्रो स्थानमा १२ अंक जोडेको संकटा रहँदा आर्मी १० अंक जोड्दै चौथो स्थानमा छ।

समान ८ अंक जोडेका सातदोबाटो र हिमालयन शेर्पा क्लब पाँचौं र छैठौं स्थानमा रहँदा समान ७ अंक जोडेका थ्री स्टार, एनआरटी र जावलाखेल सातौं, आठौं र नवौं स्थानमा छन्। दशौं स्थानमा ६ अंक जोडेको नेपाल पुलिस क्लब रहँदा ११ औं र १२ औं स्थानमा समान ५ अंक जोडेका नेपाल एपीएफ क्लब र ब्रिगेड ब्वाइज क्लब छन्।

रेलिगेशन क्षेत्र अर्थात १३ र १४ औं स्थानमा च्यासल युथ क्लब र फ्रेन्ड्स क्लब छन्।

सम्बन्धित् समाचार