पुस १२, ताप्लेजुङ : सिरिजंगा गाउँपालिकाद्वारा सञ्चालित प्रथम अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि सिदिङ्वा गाउँपालिकाले जितेको छ । फुङलिङ नगरपालिकालाई ३–० को सोझो सेटमा पराजित गर्दै सिदिङ्वाले ३ लाख ३३ हजार नगदसहित सिरिजंगा लिपि अंकित २ सय ६१ तोला चाँदीको रनिङ शिल्ड र ट्रफी हात पारेको छ । उपविजेता फुङलिङले १ लाख ५१ हजारमा चित्त बुझायो । सिदिङ्वाले २५–१९,२५–२१ र २५–१६ को सोझो सेटमा हराएको हो ।
पाथीभरा याङ्वरक र फक्ताङलुङ गाउँपालिकाले ५५ हजार ५ सयका दरले सान्त्वना पुरस्कार पाए । गाउँपालिका अध्यक्ष टीकाराम गुरुङले विजयीलाई पुरस्कार प्रदान गरे ।
एक नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका सबै स्थानीय तहले प्रतियोगितामा सहभागिता जनाएका थिए । फेयर अफ दी अवार्डको उपाधि २० हजार नगदसहित मिक्वाखोला गाउँपालिकाले प्राप्त गर्यो । १० हजारसहित सर्वोत्कृष्ट खेलाडीको उपाधि सिदिङ्वाका प्रविन न्यौपानेले पाए ।
फुङलिङका सुशिल भट्टराई उत्कृष्ट स्पाइकर, लक्ष्मण गुरुङ उत्कृष्ट डिफेन्डर, निश्चल भट्टराई उत्कृष्ट ब्लकर भए । सिदिङ्वाका मिलन लिम्बु उत्कृष्ट सटर, सन्दीप गौतम उदयीमान खेलाडी र शिव तोलाङगी उकृष्ट प्रशिक्षक घोषित भए ।