काठमाडौं : नेकपा (माओवादी केन्द्र) ले राजनीतिक प्रतिवेदन र विधान मस्यौदामाथि समूहगत छलफल गर्न बुधबार मध्यान्ह १२ बजेसम्म समय थप गरेको छ। समूहगत छलफलका लागि मंगलबार दिनभर समय दिइएपनि नसकिएपछि बुधबार मध्यान्ह १२ बजेसम्मको समय थप गरिएको हो ।
कमलादीस्थित प्रज्ञा भवनमा सोमबार आठौं राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘२१ औं शताब्दीको समाजवादको नेपाली बाटो’शीर्षकको वैचारिक तथा राजनीतिक दस्तावेज, पार्टी स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले पार्टीको विधान मस्यौदा प्रस्तुत गरेका थिए।
बन्दसत्रमा प्रस्तुत र विधान मस्यौदामा मंगलबार दिनभर २५ समूह बनाएर समूहगत छलफल भएको माओवादी केन्द्रले जनाएको छ। अधिकांश समूहले वैचारिक तथा राजनीतिक दस्तावेज र विधान मस्यौदामाथिको छलफल गरेको र बाँकी समूहले बुधबार अपरान्ह १२ बजेभित्र छलफल सक्ने प्रचार प्रसार उपसमितिले जनाएको छ।
बुधबार दिउँसो १ बजेबाट महाधिवेशनस्थल प्रज्ञा भवन, कमलादीमा समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्ने कार्यक्रम रहेको छ। समूहका प्रमुखले समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्न प्रत्येक समूह प्रमुखलाई १५ मिनेटको समय दिइएको बताइएको छ।