काठमाडौं : नेकपा माओवादी केन्द्रको महाधिवेशनमा नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका प्रकाशनको तयारी थालिएको छ। माओवादी केन्द्रको निर्वाचन आयोगले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता देव गुरुङले प्रस्तुत गरेको प्रतिवेदनको निष्कर्ष सकिएपछि निर्वाचन प्रक्रिया सुरु हुनेछ। केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णु पुकार श्रेष्ठले सम्भवतः आजै मतदाता नामावली प्रकाशन गरिने जानकारी दिए।
उम्मेदवारी दर्ता र मतदान घोषणा भने शुक्रबार गर्ने माओवादीको तयारी छ। प्रतिवेदनको छलफल सकिएपछि सांगठनिक संरचना निर्माणमा केन्द्रीत हुने एक नेताले जानकारी दिए। उनका अनुसार महाधिवेशन हलबाटै केन्द्रीय कमिटी घोषणा गर्ने तयारी छ।
माओवादी केन्द्रका नेता देव गुरुङले यो महाधिवेशनबाट नयाँ केन्द्रीय कमिटी घोषणा गर्ने बताए। उनले सकभर सबै पदमा सर्वसहमति गराउने प्रयास भइरहेको बताए। उनका अनुसार केन्द्रीय सदस्यको नाम टुंग्याउन प्रत्येक प्रदेशबाट सिफारिस मागिने भएको छ।
माओवादीको भौगोलिक ७ र गैरभौगालिक ३ गरी १० वटा प्रादेशिक संरचना छन्। महाधिवेशन हलबाट केन्द्रीय सदस्यको नामसहित घोषणा गर्ने तयारीसमेत रहेको एक नेताले बताए। यसरी घोषणा भएको नाममा दाबी विरोधका लागि समय दिइने र कसैले दाबी विरोध गरे निर्वाचन पक्रियामा जाने ती नेताले बताए।