सागर वि.क. (वैखरी अनलाईन) कपिलवस्तु जिल्लालाई ‘खुला दिसा मुक्त जिल्ला ’ घोषणा गरिएको छ, भन्ने प्रसंग कही कतै उल्लेख गर्दा छिमिकी जिल्लासहितका व्यक्तिहरु हाँस्ने गरेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेले बताए । कपिलवस्तुका ८ पालिकामा हैजाका विरामी फेला परेको कुरा उल्लेख गर्दै उनले यस्तो बताए । २०७६ सालमा जिल्लालाई एक भव्य कार्यक्रमका बीच ‘खुला दिसा मुक्त जिल्ला’ घोषणा गरिएको तर त्यो मात्र घोषणामा सिमित भएको उनले बताए ।
उनले खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ जिल्ला शाखा कपिलवस्तुले आयोजना गरेको खानेपानी शुद्धिकरण तथा व्यवस्थापन सम्बन्धि सरोकारवालासंग अन्तरक्रिया कार्यक्रममा यस्तो बताएका हुन् । जहाँ लुम्बिनी प्रदेश सरकारको पर्यटन, ग्रामिण तथा शहरी विकास राज्यमन्त्री रिना नेपाल पनि सहभागि थिईन् । प्रमुख पाण्डेले जिल्लाको कृष्णनगर नगरपालिकामा करिब ६५ प्रतिशत जनसंख्याले चर्पी प्रयोग नगर्ने तथ्याङ्क समेत उल्लेख गरे । अन्तरक्रिया कार्यक्रममा जिल्लाका मात्र तीन पालिकाहरु कपिलवस्तु र कृष्णनगर नगरपालिका र विजयनगर गाउँपालिकाका का प्रतिनिधिहरु मात्र सहभागी थिए ।
सोही प्रसंगलाई ईकिंत गर्दै प्रमुख पाण्डेले खानेपानी शुद्धिकरण तथा व्यवस्थापन जस्तो संवेदनशील विषयमा पालिकाहरु गम्भिर नभएको समेत गुनासो सुनाए । उनले यसरी पालिकाहरु गम्भिर नभएको खण्डमा एकदिन जिल्लाहरु नै हैजाका कारणले सुत्नुपर्ने दिन आउन सक्ने चेतावनी समेत दिए । ‘पालिकाका जिम्मेवार व्यक्तिहरु कार्यक्रममा आउनु भएन्, उनले भने, यस्तो खानेपानी शुद्धिकरण जस्तो संवेदनशील विषयमा चासो नदिनु जिल्लावासीका लागी दुर्भाग्य हो ।’ अघि उनले भने, ‘कृष्णनगरमा जस्तै हैजाको प्रकोप जिल्लाभर नफैलिएला भन्न सकिन्न र एकदिन सबै सुत्नु पर्ने हुन सक्छ ।’
उनले नेताहरु प्रायः जनताको स्वास्थ्यप्रति गम्भिर नभएको उल्लेख गर्दै चुनावमा पनि यस्ता स्वास्थ्यका मुद्धालाई लिएर अघि बढ्न आग्रह गरे ।
उता पर्यटन, ग्रामिण तथा शहरी विकास राज्यमन्त्री रिना नेपालले पनि कपिलवस्तु खुला दिसा मुक्त जिल्ला घोषणा हुनु तर जिल्लामा नै हैजाको संक्रमण फैलिनु दुखत भएको स्वीकार गरिन् ।








