रुकुम (पूर्व) : एक सातादेखि हिउँमा फसेका रुकुमपूर्वका १४ जना मजदुरलाई सोमबार (आज) सकुशल उद्धार गरिएको छ। जिल्लाको पुथाउत्तरगंगा गाउँपालिका–२ स्थित उपल्लो घुसदुङमा एक सातादेखि १० पुरुष, ४ महिला गरी १४ जना मजदुर हिउँमा फसेका थिए। उद्धार गरिएकाको स्वास्थ्य अवस्था सामान्य रहेकोले उनीहरूको घर पुथाउत्तरगंगा–२ पेल्मा लगिएको छ।
मजदुरहरू हिउँमा फसेको खबर आइतबार मात्र थाहा भएको थियो। उनीहरूको उद्धारका लागि सोमबार ९आज० दिउँसो जिल्ला प्रशासन कार्यालयको पहलमा गृह मन्त्रालयले पठाएको हेलिकोप्टर मार्फत सकुशल उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाले जानकारी दिए।
म्याग्दी, बाग्लुङ र रुकुमपूर्वको सिमाना आसपासको उपल्लो घुसदुङमा गोरेटो बाटो खन्न उनीहरू गएका थिए।
बाक्लो हिमपात भएपछि उनीहरू घर फर्कन सकेका थिएनन्। एक सातासम्म उनीहरू ओडारमा बसिराखेको अवस्थामा सोमबार ९आज० दिउँसो सकुशल हेलिकोप्टरमार्फत उद्धार गरिएको प्रजिअ बाँस्कोटाले बताए।
उपल्लो घुसदुङमा गोरेटो बाटो खन्नका लागि १५ जनाको टिम रहेको थियो। जसमध्ये एकजना महिला ढोरपाटनस्थित आफन्तको घरमा सकुशल रहेको गाउँपालिकाका कम्प्युटर अपरेटर चित्रबहादुर केसीले जानकारी दिए।