गृहपृष्ठ Featured शेखर कोइरालाको देउवालाई प्रश्न– कुन आधारमा केन्द्रीय सदस्य मनोनीत गरिएको हो ?

शेखर कोइरालाको देउवालाई प्रश्न– कुन आधारमा केन्द्रीय सदस्य मनोनीत गरिएको हो ?

काठमाण्डौ : नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले कुन मापदण्डको आधारमा पार्टीको केन्द्रीय सदस्यहरू मनोनीत गरिएको हो भनी सभापति शेरबहादुर देउवालाई प्रश्न गर्नुभएको छ ।

आज बुधवार नेता कोइरालाले काठमाण्डौमा पार्टीको १४ औँ महाधिवेशनमा आफ्नो समूहबाट चुनावमा उठेका नेताहरूको बैठकलाई सम्बोधन गर्दै केन्द्रीय सदस्यहरूलाई के मापदण्ड अपनाएर नियुक्त गरिएको हो रु त्यसको कुरा जान्न चाहेको भनी सभापति देउवालाई प्रश्न गर्नुभएको हो । उहाँले पार्टीमा न्यायोचित अवसरको वितरण र व्यवस्थापन हुनुपर्ने बताउनुभयो ।

कोइरालाले भन्नुभयो, ‘पार्टीमा सभापतिज्यूले केही साथीहरूलाई केन्द्रीय सदस्यमा नियुक्ति गर्नुभएको छ । नियुक्ति पाउनुभएका सबै साथीहरू सक्षम र योग्य नै हुनुहुन्छ । तर के मापदण्ड अपनाएर उहाँहरू नियुक्त हुनुभएको हो ? हामी जान्न चाहन्छौँ । पार्टीमा न्यायोचित अवसरको वितरण र व्यवस्थापन हुन जरुरी छ । नभए कार्यकर्ता किन कांग्रेसमा बस्ने भनी प्रश्न उठ्न सक्छ । सभापतिको लाइक र डिस्लाइकबाट व्यक्तिको छनोट भए पार्टीमा दुर्घटना हुन सक्छ । विधि र विधानबाहिर गएर गरिने सबै काम बन्द गर्न हामी एकढिक्का भएर प्रयत्न गर्न जरुरी छ भन्ने मलाई लाग्छ ।’

उहाँले पार्टीका निष्ठावान्, इमानदार र त्यागी नेता, कार्यकर्तालाई पाखा लगाउने कामका विरुद्ध आवाज उठाउनुपर्ने बताउनुभयो । पार्टी नेतृत्वको गतिविधि र निर्णयले कांग्रेस सङ्गठनमा निराशा पैदा भए आउँदा चुनावहरू असहज हुन सक्ने उहाँको भनाइ छ ।

नेता कोइरालाले आउँदो तीन वटै तहको चुनावमा नेपाली कांग्रेस एक्लै उठ्ने बताउनुभयो । कांग्रेसलाई एक्लै उठाएर विजयी बनाउने उहाँले बताउनुभयो ।

कांग्रेसलाई एक नम्बरको पार्टी बनाउन र कांग्रेस एकता र रूपान्तरणको सन्देश बोकेर जनताको बीचमा जाने पनि उहाँले उल्लेख गर्नुभयो ।

नेता कोइरालाले आफ्नो समूह पार्टीको निर्णय गर्ने ठाउँमा प्रभावकारी हुन नसके पनि पार्टीभित्र हुने सबै काम न्यायसङ्गत, विधि र विधानसम्मत, विवेकपूर्ण र व्यावहारिक तरिकाबाट निर्णय गराउन आवाज उठाउने बताउनुभयो ।

काठमाण्डौको एक होटलमा नेता कोइराला पक्षका नेताहरूको बैठक बसिरहेको छ । बैठकमा पार्टीको १४ औँ महाधिवेशनको समीक्षा गर्नुका साथै आउँदा कार्यदिशाको सम्बन्धमा छलफल हुने नेता कोइरालाले जानकारी दिनुभयो ।

सम्बन्धित् समाचार