काठमाडौं : काठमाडौं मेडिकल कलेजको अनुगमनमा पुगेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बढी शुल्क नलिएको भए वार्ताको टेबुलमा बसेर प्रमाणित गर्न निर्देशन दिएका छन्।
मन्त्री पौडेलले कलेजका प्रिन्सीपल रतिन्द्रनाथ श्रेष्ठलाई भेटेर अतिरिक्त शुल्क नलिएको भए प्रमाणित गरेर देखाउन बताएका हुन्। मन्त्री पौडेलले शुल्कका सम्बन्धमा भोलिसम्म रिपोर्ट पेश गर्न समेत क्याम्पस प्रशासनलाई निर्देशन दिए।
मन्त्री पौडेलले प्रिन्सीपल श्रेष्ठलाई भोलि बिहान १० बजे जिल्ला प्रशासन कार्यालयमा, विद्यार्थी अभिभावकसँग बसेर वार्ता गर्न पनि निर्देशन दिए।
उनले भने, ‘बढी शुल्क नलिएको कुरा वार्ताको टेबुलमा प्रमाणित गर्नुस्, अन्यथा कानुनअनुसार कारबाही हुन्छ।’ अनुगनका क्रममा मन्त्री पौडेलले चिकित्सा शिक्षा ऐन २०७५ को दफा १८ बमोजिम शुल्क निर्धारण गरेकाले बढी शुल्क लिन नपाउने बताए।
यस्तै मन्त्री पौडेलसँगै केएमसी पुगेकी भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले शुक्रबार बिहान साढे १० बजे विद्यार्थीसहित कलेज प्रशासनलाई वार्ताका लागि बोलाएकी छिन्।
मन्त्री देवेन्द्र पौडेलले बिहीबार बिहान काठमाडौं मेडिकल कलेजको अनुगमन गरेका हुन्। चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्कभन्दा बढी रकम कलेजले लिएको उजुरी परेपछि शिक्षामन्त्री पौडेलले कलेजको अनुगमन गरेका हुन्।
काठमाडौं मेडिकल कलेजले अतिरिक्त शुल्क लिएको विरोधमा विद्यार्थीले बुधबारदेखि तालाबन्दी एवम् प्रदर्शन गर्दै आइरहेका छन् । बुधबार शिक्षा मन्त्रालयले विद्यार्थीसँग बढी शुल्क असुल गर्ने कलेजलाई कानुनी कारबाही गरी सम्बन्धन खारेज गर्ने चेतावनीसमेत दिएको थियो।