कपिलवस्तु : मानवअधिकार तथा शान्ति समाजको २४ औं राष्ट्रिय परिषद् बैठक एवं वार्षिक साधारण सभा आगामी माघ २१ र २२ गते कपिलवस्तुमा हुने भएको छ । शान्ति समाज कपिलवस्तु शाखाको आतिथ्यतामा चार नम्बर जितपुरमा परिषद् बैठक आयोजना हुन लागेको शान्ति समाज कपिलवस्तुका सभापति गोविन्द पोख्रेलले जानकारी दिए ।
‘गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा : सबैको अधिकार’ भन्ने मूल आव्हानसहित परिषद् बैठक सम्पन्न हुन लागेको हो । राष्ट्रिय परिषद् बैठक आयोजनाका लागि शान्ति समाज कपिलवस्तु शाखा सभापति गोविन्द पोख्रेलको संयोजकत्वमा मूल तयारी समिति र विभिन्न उपसमिति गठन भएको छ ।
राष्ट्रिय परिषद् समाजको सर्वोच्च नीति निर्णायक अङ्ग हो । शान्ति समाजको सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले चार जना केन्द्रीय सदस्यले पदबाट राजीनामा दिएको सम्बन्धमा, उनीहरुले शान्ति समाजमा गरेको योगदानप्रति हार्दिक धन्यवाद एवं आभार व्यक्त गर्दै राजीनामा स्वीकृत गरेको छ ।
दुर्गा राना (लक्ष्मी), निर्मला सुवेदी, गणेश पौडेल र सन्तोष रौनियारले शान्ति समाजको अभियानमा सदैव साथ र सहयोग रहने प्रतिबद्धतासहित हाल आफ्नो राजनीतिक सक्रियताका कारण जनाई राजीनामा दिएका हुन् । शान्ति समाजको ३३ सदस्यीय केन्द्रीय कार्यसमितिमा अब २९ सदस्य रहेका छन् ।