गृहपृष्ठ Featured बाणगंगावासीलाई फागुनको अन्तिम सम्ममा पूर्ण मात्रा खोप लगाउने लक्ष्य- प्रमुख पौडेल

बाणगंगावासीलाई फागुनको अन्तिम सम्ममा पूर्ण मात्रा खोप लगाउने लक्ष्य- प्रमुख पौडेल

सागर वि.क.(वैखरी अनलाईन) : नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले बाणगंगा नगरपालिकामा खोप लगाउन योग्य सबैलाई फागुनको अन्तिम सम्ममा पूर्ण मात्रा खोप लगाईसक्ने लक्ष्य रहेको बताएका छन् । स्वास्थ्य शाखा प्रमुख पौडेलले वैखरी अनलाईनसंग कुराकानी गर्दै यस्तो बताएका हुन् ।

‘बाणगंगावासीलाई फागुनको अन्तिम सम्ममा पूर्ण मात्रा खोप लगाउने लक्ष्य छ, ‘कुनै अवरोध सिर्जना नभए त्यो लक्ष्य पुरा गर्छौ ।’ प्रमुख पौडेलले वैखरी अनलाईनलाई भने ।

उनका अनुसार बाणगंगामा करिब ५७ हजार १ सय ३१ जनाले कोरोना विरुद्धको खोप प्राप्त गरेका भने १२ हजार १ सय ७३ जना किशोरकिशोरीहरुले कोरोना विरुद्धको मोर्डना खोप प्राप्त गरेका छन् । १४ हजार ६ सय ४० जना कोरोना विरुद्धको दोस्रो मात्रा खोप लगाउन बाँकी रहेको र उनीहरुलाई यही पुसको अन्तिमसम्म लगाईसक्ने उनले दाबी गरे ।

उनले बाणगंगा नगरपालिकामा खोप लगाउन योग्य सबैलाई फागुनको अन्तिम सम्ममा पूर्ण मात्रा खोप लगाईसक्ने लक्ष्य रहेको बताए । साथै उनले १८ बर्ष माथिकालाई हाल कोरोना विरुद्धको जोन्सन एण्ड जोन्सन खोप लगाउने अभियान जारी रहेको भन्दै उक्त अभियान पुस २६ गतेसम्म चल्ने भएकाले सहभागि हुन अपिल समेत गरे । नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरि खोप प्राप्त गर्न सकिने उनको भनाई छ ।

यसैबीच कपिलवस्तुमा ३ लाख ९० हजारले कोरोना विरुद्धको एक मात्रा खोप प्राप्त गरेका छन् । जिल्लामा ४ लाख ५५ हजार खोप लगाउने जनसंख्या रहेको छ । जसमध्ये ४० प्रतिशतले पूर्ण मात्रा प्राप्त गरेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेले जानकारी दिए । प्रमुख पाण्डेका अनुसार अहिले पनि जिल्लाका १० पालिकामा रहेका स्वास्थ्य केन्द्र मार्फत खोप लगाउने अभियान जारी रहेको छ । हाल जिल्लामा कोरोना विरुद्धको जोन्सन एण्ड जोन्सन खोप दिईरहेको र यो पुस २६ गतेसम्म जारी रहने उनले बताए ।

१२ देखि १७ उमेर समूहका किशोरकिशोरीलाई खोप दिने अभियान हाललाई स्थगित गरिएको उनले बताए । जिल्लाभरका ७३ हजार बालबालिकालाई कोरोना विरुद्धको मोर्डना खोप उपलब्ध गराई सकिएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । यस्तै स्वास्थ्य कार्यालय प्रमुख पाण्डेले कोभिड खोप अभियान लगत्तै हैजा विरुद्धको खोप जिल्लाका १० वटै पालिकामा उपलब्ध गराउने तयारी रहेको बताए ।

सम्बन्धित् समाचार