काठमाडौं : सरकारसँग नागरिकता पाउनुपर्ने माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा सोमबार पनि धर्ना दिइएको छ। नागरिक संघर्ष समितिको अगुवाइमा संवैधानिक व्यवस्थाअनुसार तत्काल नागरिकताको व्यवस्था गर्न सरकारसँग माग गर्दै धर्ना दिइएको हो। धर्नामा बसेकाहरूले नागरिकताबाट आफूहरूलाई बञ्चित गरिएको विरोधमा धर्नामा बस्नु परेको बताएका छन्।
उनीहरूले सरकारले आफ्नै नागरिकलाई समेत अनागरिक बनाएको भन्दै आपत्ति जनाए। राष्ट्रको पहिचानको रुपमा रहेको नागरिकता समेत नदिएर सरकारले नागरिकमाथि अमानवीय व्यवहार देखाएको उनीहरूको आरोप छ।
धर्नामा सहभागी भएकाहरूले ‘हामी नेपाली बाबु–आमाका सन्तान, कहिलेसम्म अनागरिक बन्नु पर्ने सरकार’, ‘संविधान अनुसार नागरिकको व्यवस्था गर’ भन्ने जस्ता प्लाकार्ड प्रदर्शन गरेका थिए।
नेपालमा नेपाली नागरिकका छोराछोरीले समेत नागरिकता पाउन नसकेको, कतिपय अवस्थामा गैरनागरिकहरूले समेत नागरिकता पाएको तथ्य बाहिर आउने गरेको तर त्यसको सुनुवाइ सरकारले नगरेको धर्नामा बसेकाहरूको गुनासो छ।