२७ पुस, देउखुरी। कोरोना भाइरसको तेस्रो लहर फैलिहेका कारण यस वर्ष दाङका जिल्लाका धार्मिकस्थलमा लाग्ने माघी मेलाहरु नहुने भएका छन् । माघे सङ्क्रान्तिका अवसरमा जिल्लाका दुई स्थानमा ठूलो मेला लाग्ने गर्दथ्यो ।
घोराही उपमहानगरपालिका–१३ को बाह्रकुने ताल (दह) र लमही नगरपालिका-९ स्थित बगार बाबा धार्मिकस्थल रिहारमा मेला लाग्ने गर्दथ्यो । यो वर्ष यी दुवै स्थानमा लागि मेला नलाग्ने भएको हो।
बाह्रकुने दह संरक्षण समितिका अध्यक्ष टेमन बुढाले नेपाल सरकारको निर्देशनअनुसार मेला भर्न स्थगित गरिए पनि भौतिक दूरी र सुरक्षाको मापदण्ड पालना गरी पूजा गर्न पाइने बताए। आजभोलि मन्दिरमा दैनिक पूजा भइरहेको छ।
मन्दिरमा पूजाका लागि प्यूठान, रोल्पा, रुकुमबाट दैनिक करिब दुईदेखि तीन सय भक्तजन आउने गरेको उनले बताए । यो मन्दिरमा भेडाको बलि दिइने र परेवा उडाइने गरिन्छ । अवलोकन गर्न आउने पर्यटकलाई मन्दिर परिसर सधैँ खुल्ला हुने अध्यक्ष बुढाले जानकारी दिए ।








