रुपन्देही : बुद्ध जन्मस्थल लुम्बिनीमा ५ हजार मानिस अट्ने सभाहल र ध्यान केन्द्र निर्माणको काम अन्तिम चरणमा पुगेको छ । लुम्बिनी विकास कोषले आगामी २ जेठ, बुद्ध जयन्तीका दिन ध्यान केन्द्रको उद्घाटन गर्ने गरी काम अगाडि बढाएको छ ।
‘ध्यान केन्द्रमा ल्याण्डस्केपिङ र बाउन्ड्री वालको काम मात्र बाँकी छ, यो काम पनि चालु अवस्थामा छ, त्यस्तै झ्याल ढोका लगाउने काम पनि जारी छ,’ कोषका योजना प्रमुख सरोज भट्टराईले भने, ‘आगामी बुद्ध जयन्तीका दिन सभाहल र ध्यान केन्द्रको उदघाटन हुनेछ ।’
लुम्बिनीमा आयोजना हुने ठूला सभा समारोहका लागि सम्मेलन केन्द्रको अभाव भएपछि १७ वैशाख २०७५ मा २५६२औँ बुद्ध जयन्तीको अवसर पारी राष्ट्रपति विद्यादेवी भण्डारीले सम्मेलन केन्द्रको शिलान्यास गरेकी थिइन् ।