गृहपृष्ठ Featured बाघको मुखबाट फुत्केर बाँचे चितवनका टकबहादुर

बाघको मुखबाट फुत्केर बाँचे चितवनका टकबहादुर

चितवन : भैंसी चराउन चितवन निकुञ्ज नजिक पुगेका टकबहादुर कुमाललाई अचानक बाघले आक्रमण गर्‍यो । झाडीबाट बाघ उडेझै गरेर आएको देख्दा ६१ वर्षीय टकबहादुरको सातो नै गयो । बाघले उनैलाई झम्टेर लडायो । एउटा पञ्जाले ढाडमा टेक्यो । मुख लगेर टकबहादुरको टाउको टोक्न थाल्यो । ‘मेरो टाउको कचुर कचुर गरेको सुने । मलाई त लाग्यो अब बाघले खायो, बाँचिने भइएन,’ टकबहादुरले भने ।

भैंसी चराउन उनीसँगै अरु पनि गएका थिए । साथीभाइ कराएको चिच्याएको सुने । खै कता कताबाट हो टकबहादुरले बल झिके । हातमा सानो लौरो पनि थियो । हात र लौरोले बाघलाई हुत्याउन खोजे । नभन्दै बाघ उनीबाट अलग भयो । जसरी अचानक आएको थियो । उसै गरी झाडीमा लुक्यो । तर बाघको चोट मामुली थिएन । त्यसपछि उपचार सुरु भयो । अहिले भरतपुर अस्पतालमा उनी स्वास्थ्य लाभ गरिरहेका छन् ।

‘भरतपुर आउनुअघि त के हो के हो भन्ने थियो, खुन धेरै बगेको थियो । आँखा धमिलो हुँदै गयो । बेहोस हुन थालेछु । यहाँ अस्पताल आएपछि ल अब त बाँचिन्छझैं भयो । अहिले त धेरै राम्रो भएको छ,’ टकबहादुरले जोसिँदै भने । भैंसी चराउन जाँदा तीन वर्षयता भएको यो तेस्रो घटना हो । बाघका सामुन्ने त जीवनमा पहिलो पटक परे । तर दुई वर्षअघि जेठमा भैंसी आहाल खेलेको घोलमा जाँदा मगर गोहीले नराम्ररी हान्यो ।

उनी अस्पताल आएर तीन दिन बसे । दाहिने खुट्टाको साँप्रामा लागेको चोटको दाग अझै पनि छ । ठूलो र गहिरो घाउ नभएकाले धेरै दुःख भएन । फेरि एक वर्षअघि आहालमा बसेकै भैंसी निकाल्न जाँदा गोहीले नै हान्यो । यसपटक गोही सानो थियो । पुच्छरले मात्रै भेट्यो । नुनतेलको जोहो गर्न दुःखसुख बेहोरेर भैंसी पालेका छन् । त्यही भैंसी चराउन जाँदा यो पटक अति नै ठूलो दुर्घटनाको सामना गर्नु पर्‍यो उनले ।

नवलपरासी बर्दघाट पूर्व ९नवलपुर० मध्यविन्दु नगरपालिका–१५ पर्सौनी ढोकारीमा छ टकबहादुरको घर । महेन्द्र राजमार्गको चोरमारादेखि दक्षिणमा छ यो गाउँ । घरबाट डेढ घण्टा टाढा चितवन निकुञ्जको सिमाना भएर बग्ने नारायणी नदीको आडको चौरमा भैंसी चराउन गएका थिए उनी । गाउँका अरु १२/१५ जना थिए भैंसी चराउनेहरू । दिउँसो दुई बजे तिर एक्कासि भैंसी तर्से, कराउन थाले ।

‘हामीलाई लाग्यो कतै बाघ त आएन् । स-साना झाडीहरु त थिए । ठूलो जंगल हैन त्यहाँ । ल बाघ आयो भन्ने भएपछि हामी गाइभैंसी जे छन् खेद्‍न र गाउँ फर्कने सुरमा लाग्यौं । तर म गएको एउटा झ्याङभित्र त रहेछ नि बाघ । अब उडेझैं गरेर आयो,’ टकबहादुरले त्यो समय सम्झिए । बाघले टाउकोमै झम्टेपछि टकबहादुरलाई जीवन यति नै रहेछ भन्ने लाग्यो । तर आश मरेको बेला साहस झिकेर उनले ज्यान जोगाए ।

सम्बन्धित् समाचार