काठमाडौं : नेपाल–भारत सीमा नाका सुनौलीबाट सवारीसाधनमा प्रयोग हुने पाटपुर्जा अवैध आयात दिनानुदिन बढ्दो छ । द्विदेशीय खुला सीमाको फाइदा उठाउँदै तस्करहरूले रूपन्देहीस्थित सुनौली नाकालाई स्पेयर पार्टस अवैध आयात गर्ने थलो बनाएका हुन् । भन्सार विभाग र सुरक्षा निकायले आवश्यक कदम नचाल्दा राजस्व गुमिरहेको छ ।
गाडीमा लाग्ने पार्टसहरू अधिकारिक रूपमा भित्र्याउँदा मूल्य अभिवृद्धि करसहित ४३ प्रतिशतसम्म राजस्व बुझाउनुपर्छ । तर, केही महिनायता पाटपूर्जा अवैध आयात ह्वात्तै बढेको स्थानीय व्यापारीहरूले जानकारी दिएका छन् । नियामकले चासो नदिँदा दैनिक खपतको ६० प्रतिशतभन्दा बढी पार्टसहरू अवैध तवरले आयात भैइरहेको हो ।
अवैध आयात अहिले रूपन्देही, कपिलवस्तु र नवलपरासीसम्म विस्तार भइसकेको बुटवल मैनाबगरमा अटो पार्टसको व्यवसाय गरिरहेका कृष अटोमोबाइल संचालक सुरज रेश्मीमगरले जानकारी दिए । उनका अनुसार शुरू–शुरूमा सीमा आसपासमात्र यस्ता गतिविधि भएपनि हाल भारतसँगको सीमावर्ती जिल्लाका जताततै विस्तार भएको हो ।
बुटवल इन्जिनियरिङ एसोसिएसनका उपाध्यक्ष बाबुराम आचार्यले बारम्बार जानकारी गराएपनि सम्बन्धित निकाय चुप लागेर बस्नु आश्चर्यजनक भएको बताए । उनले भने, ‘सरकारलाई दैनिक लाखौं रुपैयाँ नोक्सानी हुनु अन्ततः जनतालाई नै नोक्सानि हुनु हो ।’
गाडी घनि स्वयम्ले सीमा पारीका व्यापारीलाई सम्र्पक गर्ने र एजेन्टको सहयोगमा सेटिङ मिलाएर ग्यारेजमै पाटपूर्जा ल्याइदिने गरेका स्थानीय व्यवसायीहरू बताउँछन् ।
राज्यलाई कर तिरेर व्यवसाय सञ्चालन गरिरहेका स्थानीय व्यापारीहरू विस्थापित हुनुपर्ने अवस्था आएको उनीहरूको दाबी छ । केन्द्र सरकारले नै यस्तो गतिविधि नियन्त्रणतर्फ ठोस कदम चाल्नुपर्ने उनीहरूको भनाइ छ ।