१ माघ, काठमाडौं । विपिन आचार्यको अलराउण्ड प्रदर्शन प्रेरित बागमती प्रदेश प्रधानमन्त्री कप पुरुष टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबर भएको खेलमा गण्डकी प्रदेशलाई ४० रनले पराजित गर्दै समूह बी को उपविजेताको रुपमा बागमती सेमिफाइनल पुगेको हो । बागमतीले ४ मध्ये ३ खेल जित्दै ६ अंक जोडेको छ । यस समूहबाट एपीएफ सबै चार खेल जितेर समूह बिजेताको रुपमा सेमिफाइनल पुगिसकेको छ ।
बागमतीले अब समूह ए को विजेता नेपाल पुलिस क्लबसंग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ ।
बागमतीले दिएको १४४ रनको लक्ष्य पछ्याएको गण्डकीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १०३ रन मात्र बनाउन सक्यो । गण्डकीका लागि कमल परियारले बनाएको ११ रन नै व्यक्तिगत उच्च रन रह्यो । यस्तै विधान श्रेष्ठ, दीपक डुम्रे, सन्दीप क्षेत्री, गोविन्द विक र कप्तान विशाल पौडेलले समान १० रन जोडे ।
बागमतीका लागि नन्दन यादव, विपिन आचार्य र सुवास खत्रीले २-२ विकेट लिए । यस्तै रिजन ढकाल, प्रतिश जिसी र रामनरेश गिरीले समान १ विकेट लिए ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बागमतीले २० ओभरमा ९ विकेट गुमाएर १४३ रन बनाएको थियो । बागमतीका लागि म्यान अफ द म्याच विपिनले १९ बल खेल्दै ३ चौका मद्दतमा सर्वाधिक ३० रन बनाए । सुवास खकुरेलले ३० बलमा २७ रन जोडे । यस्तै विष्फोटक व्याटिङ गरेका प्रतिशले ८ बल खेल्दै २ चौका र ३ छक्का मद्दतमा २७ रन नै बनाए ।
गण्डकीका कृष्ण पौडेल र विशाल पौडेलले २-२ तथा अशोक श्रेष्ठ, सुवास भण्डारी र कमल परियारले समान १ विकेट लिए ।