काठमाडौँ : संघीय संसद्, प्रतिनिधिसभाको सोमबारका लागि बोलाइएको बैठक कोरोना संक्रमणका कारण बस्न नसक्ने भन्दै सूचना टाँसेर स्थगित गरिएको छ ।
संसद्का महासचिव भरतराज गौतमले आइतबार एक सूचना जारी गर्दै सोमबार दिउँसो १ बजेका लागि आह्वान गरिएको बैठक स्थगित गरिएको जानकारी दिएका हुन् ।
कोरोना संक्रमण बढ्दै गएका कारण प्रतिनिधिसभा बैठक स्थगित गरिएको सूचनामा उल्लेख छ ।
सभामुख अग्निप्रसाद सापकोटाले अर्को बैठक माघ १६ गते आइतबार दिनको १ बजेका लागि निर्धारण गरेको पनि सूचनामा उल्लेख छ ।
प्रतिनिधिसभा बैठक यसअघि पनि पटक-पटक स्थगित हुँदैआएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले जारी राखेको अवरोधका कारण पछिल्लो समय संसद्ले काम गर्न सकिरहेको छैन । राष्ट्रिय सभाको बैठक पनि पटक-पटक सूचना टाँसेर स्थगित गरिँदै आएको छ ।
सोमबारका लागि आह्वान गरिएको राष्ट्रिय सभाको बैठक पनि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको सूचना आइतबार मात्रै जारी गरिएको थियो ।