भारतमा गत २४ घन्टामा कोरोना भाइरसबाट थप दुई लाख ७१ हजार दुई सय दुईजना संक्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी दिएको छ । शनिबार परीक्षण गरिएका १६।२८ प्रतिशतलाई कोरोना पजिटिभ देखिएको समाचारमा जनाइएको छ ।
सोही अवधिमा थप तीन सय १४ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या चार लाख ८६ हजार ६६ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।
हाल भारतमा सात हजार सात सय ४३ ओमिक्रोनका संक्रमित रहेको पनि सो मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । भारतमा अहिले संक्रमितको संख्या १५ लाख ५० हजार तीन सय ७७ रहेको छ । सक्रिय संक्रमितको यो संख्या कुल संक्रमितको ४।१८ प्रतिशत भएको समाचारमा जनाइएको छ । कोरोना भाइरस निको हुने दर ९५।१ प्रतिशत रहेको जनाइएको छ । -रासस








