काठमाडौं : कोरोना संक्रमण तीव्र फैलिएपछि सर्वोच्च अदालतले सेवा कटौती गरेको छ। मंगलबार बसेको अदालतको फूलकोर्ट बैठकले यस्तो निर्णय गरेको हो। अदालतले माघ ५ देखि १८ गतेसम्म सेवा कटौती गर्ने निर्णय गरेको हो। सेवा कटौतीसँगै अदालतले ४ प्रकारका सेवा मात्रै दिने भएको हो।
बन्दीप्रत्यक्षीकरण तथा कोभिड-१९ महामारीसँग सम्बन्धित जरुरी प्रकृतिका निवेदनको सुनुवाइ, मुद्दा फिर्ता, तामेली एवं मिलापत्रसम्बन्धी निवेदनको सुनुवाइ हुनेछ । यस्तै फौजदारी मुद्दामा पनि सुनुवाइ हुनेछ ।
यसैगरी हेर्दाहेर्दै र निर्णय सुनाउने भनी मिति तोकिएका, सरकारले दर्ता गरेका तर अर्को पक्ष झिकाउने भन्ने आदेश नभएका पुनरावेदनको पनि सुनुवाइ हुनेछ । मुद्दारनिवेदन दर्ता गर्ने, पेशी र अन्य तारेख दिने काम नियमित हुनेछ।
यस्तै अदालतमा अनावश्यक भीडभाड हुन नदिन अत्यावश्यक र न्यून संख्याको जनशक्तिबाट आलोपालो मिलाइ अदालतको काम कारबाही गर्ने र टेलिवर्क वा अ न्य तरिकाबाट निकास वा स्टेसनमा रही अदालतको कार्य सम्पादन गर्न मुख्य रजिस्ट्रारले आवश्यक व्यवस्था मिलाउने निर्णय गरेको छ।
उच्च र जिल्ला अदालत, अरु न्यायाधीकरण कार्यालयले पनि आवश्यकता अनुसार सेवा कटौतीको निर्णय लिन सक्ने निर्णय बैठकले गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशसहित ३१ कर्मचारीमा कोरोना संक्रमण देखिएको छ। न्यायाधीशसहित कर्मचारीमा कोरोना देखिएपछि सेवा कटौती गरेको हो ।