काठमाडौं : दोलखामा तरकारी खेती गरेर जीविकोपार्जन गर्दै आएका पदमबहादुर तामाङ मंगलबार एकाएक चर्चामा आए। सामाजिक सञ्जालमा एउटा फोटो हालिएको थियो। त्यसमा एक युवा एउटा हातले डोको समातेर अर्को काँधमा मुला बोकेर कान्ला उक्लिँदै छन्।
पदमको चर्चाको कारण यही मुला हो। मुला बोक्ने भने उनका भतिजा हुन्। मुला यति ठूलो छ कि यसलाई काँधमा काठको मुढो बोकेझैं बोक्नुपरेको छ।
‘त्यो मुला १४ किलोको हो,’ पदमले भने, ‘मेरो बारीमा १४ किलोका दुइटा मुला फलेका हुन्।’
आलु रोप्ने ब्याड तयार पारेर फर्किँदै गर्दा पदमका भतिज मुला बोकेर उक्लेका थिए। त्यसपछि पदमका छोराले त्यसको फोटो खिचेर फेसबुकमा हालेका थिए।
मुला बोकेको तस्बिर सामाजिक सञ्जालबाट सार्वजनिक भएपछि पदमलाई गाउँपालिकाका अध्यक्ष भरतप्रसाद दुलालले फोन गरे। मुला लिएर पालिकामै आउन निम्तो दिए।
‘म खुसी हुँदै १४ किलोका दुइटै मुला बोकेर मंगलबार पालिकाको कार्यालय पुगेँ,’ पदमले खुसी हुँदै सुनाए।
उनका अनुसार गाउँपालिकाले उनलाई नगदसहिद सम्मान गर्यो। सिँचाइका लागि तीन सय मिटर पाइप पनि दियो।
‘आफूले फलाएको तरकारीले पुरस्कार पाउँदा खुसी लागेको छ,’ पदमले भने।
दोलखाको शैलुङ गाउँपालिका वडा नम्बर १ ठेकलाध्यूका पदमको पुर्ख्यौली पेसा नै कृषि हो। उनले यही पेसालाई निरन्तरता दिएको झन्डै पाँच दशक हुन लाग्यो।
पदमले बीस रोपनी जमिनमा आलु, काउली, बन्दा, केराउ लगायत विभिन्न प्रकारका तरकारी उत्पादन गरेका छन्।
उनको बारीमा यसअघि पनि ७ किलोसम्मको मुला फलेको रहेछ।
‘तर यो अहिलेसम्मकै सबैभन्दा ठूलो हो,’ दंग परेका पदमले भने, ‘सिजनको मुला सबै बिक्री भइसक्यो। केही बारीमै बाँकी थियो। निकालेर हेर्दा त्यत्रो रहेछ। हिजो सम्मान पाएको मुला साढे दुई महिनाको हो।’
उनले बारीमा रातो र सेतो दुई थरीका मुला लगाएका छन्। सिजनका मुला दुई महिनाअघि नै बजार पुर्याइसकेर आम्दानी लिइसके। नबिकेर बारीमै थन्किएको बेमौसमी मुलाले भने उनलाई चर्चा मात्र दिलाएको छ।








