गृहपृष्ठ Featured बेनी-जोमसोम सडकखण्ड दैनिक ६ घण्टा यातायात बन्द हुने

बेनी-जोमसोम सडकखण्ड दैनिक ६ घण्टा यातायात बन्द हुने

प्रकाशित मिति:

जोमसोम : उत्तरी कोरलानाका जोड्ने राष्ट्रिय गौरवको बेनी-जोमसोम सडकखण्डमा टाइम कार्ड लागु गरिएको छ । जिल्ला प्रशासन कार्यालय म्याग्दीले बिहीबार एक सूचना प्रकाशित गर्दै बेनी-जोमसोम सडक आयोजनाको काभ्रेभीरमा महभीर खण्ड रक कटिङ गर्नुपर्ने र तातोपानीदेखि नौनी बगर सडक विस्तार एवं स्तरोन्नति तीव्ररुपमा अघि बढाउनुपर्ने भन्दै टाइम कार्ड लागु लगाएको हो ।

यस्तै, बेनी-जोमसोम सडकको काभ्रेभीरमा पनि रक कटिङ गरी सडक चौडा गर्ने कार्य भइरहेको छ । एक साताअघिबाट त्यहाँ ब्लास्टिङ गरी सडक चौडा गर्ने काम भएको थियो । काभ्रेभीरमा सडक स्तरोन्नति गर्न टाइम कार्ड लगाइएको थिएन । महभीर र नौनी बगरमा लगाइको टाइम कार्डले काभ्रेभीर सडक स्तरोन्नतिलाई समेत सहयोग पुग्ने देखिएको छ ।

यसअघि बेनी-जोमसोम सडकमा टाइम कार्ड लागु नहुँदा सडक स्तरोन्नति कार्यमा बाधा पर्दै आइरहेको थियो । म्याग्दी प्रशासनका अनुसार बेनी-जोमसोम सडकको काभ्रेभीरमा माघ १० गते देखि माघ २९ गतेसम्मका लागि दैनिक ६ घण्टा सडक आवागमन बन्द गर्ने गरी टाइम कार्ड लगाइएको हो ।

जसअनुसार ८ बजे देखि ११ बजे र दिउँसो १ बजे देखि ४ बजेसम्म सडक बन्द हुने जनाइएको छ । राष्ट्रिय गौरवको कोरला सडकखण्डको स्तरोन्नति आव २०७३/०७४ सालदेखि सुरु गरिएको थियो। बेनी-जोमसोम ७६ किमी ४ खण्ड र जोमसोम-कोरला ११० किमी ७ खण्डमा काम भइरहेको थियो । कमजोर धरातलीय संरचनाका कारण प्राकृतिक विपद्ले बेनी-जोमसोम खण्ड बर्सेनि स्तरोन्नति कार्यमा बाधा पुग्ने गरेको छ ।

राष्ट्रिय गौरवको कोरला सडकअन्तर्गत जोमसोम-कोरला ९५ प्रतिशत भौतिक प्रगति हुँदा बेनी-जोमसोम खण्डमा जम्मा ६५ प्रतिशत मात्र भौतिक प्रगति भएको हो ।

सम्बन्धित् समाचार