सागर वि.क. (वैखरी अनलाईन) : कपिलवस्तुमा कोरोना विरुद्धको खोप अभियान रोकिएको छ । जिल्लाका १० पालिकामध्ये कृष्णनगर नगरपालिका बाहेक जिल्लाका अन्य ९ पालिकामा खोप अभियान रोकिएको हो । खोपका लागी आवश्यक पर्ने सिरिन्जको अभाव हुदाँ जिल्लामा कृष्णनगर नगरपालिका बाहेकका अन्य पालिकामा खोप अभियान ठप्प भएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख हेमराज पाण्डेले वैखरी अनलाईनलाई जानकारी दिए ।
प्रमुख पाण्डेले अबको दुई/तीनमा थप खोपसहित सिरिन्ज आउने बताए । सरकारले उपलब्ध गराउने कोरोना विरुद्धको थप खोप नआउँदा हालसम्म जिल्लामा अग्रपक्तिमा खटिनेहरुलाई बुस्टर डोज दिएको छैन् । दुई/तीनमा सिरिन्जसहित बुस्टर डोजका लागी थप खोप आउने उनको भनाई छ ।
जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले स्वास्थ्यका मापदण्ड पालनालाई प्राथमिकता दिन जिल्लावासीलाई अनुरोध समेत गरेको छ । हाल जिल्लामा २७० जना भन्दा बढी कोरोना सक्रिय संक्रमित रहेका छन् । कपिलवस्तुमा ७२ प्रतिशत मानिसले कारोना विरुद्धको पहिलो मात्रा र ५१ प्रतिशतले पूर्ण मात्रा खोप लगाई सकेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुका प्रमुख पाण्डेले बताए ।
यद्यपी बाणगंगा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले खोप अभियानमा कुनै समस्या नगरेको दाबी गरे ।