वीरगन्ज : बारामा जन्ती जाँदा बेहुला चढ्ने रथले किचेर दुई जनाको मृत्यु भएको छ। १४ जना घाइते भएका छन्।आदर्शकोतवाल गाउँपालिका वडा नम्बर ३ बतरामा जन्तीको लागी तयार गरिएको बेहुला चढ्ने रथले किचेर रथमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको हो। मृत्यु हुनेमा आदर्शकोतवाल गाउँपालिका ३ बतराका बनारसी रामकी छोरी १५ वर्षीया निलमकुमारी राम र बाराकै सिम्रौनगढ नगरपालिका ७ जानकीनगरका दिपेन्द्र रामकी पत्नी २५ वर्षीया बालकुमारी राम रहेका बाराका प्रहरी नायव उपरीक्षक राजेश थापाले जानकारी दिए।
रथले किचेर घाइते भएका १४ जनामध्ये ८ जनाको बाराको कलैया स्थित राज्यलक्ष्मी रिलिफ हस्पीटलमा र ६ जनाको वीरगन्ज स्थित न्युरो अस्पतालमा उपचार भइरहेको थापाले बताए। घाइतेमध्ये ७ जनाको अवस्था भने गम्भीर रहेको पनि उनले बताए।
वीरगन्जको न्युरो अस्पतालमा बतराका २४ वर्षीय अरबिन्द्र राम, १८ वर्षीय सिया राम, १० वर्षीय अजित राम, २० वर्षीय सरोज राम, १२ वर्षीय जितेन्द्र राम र १३ वर्षीय सागर रामको उपचार भइरहेको छ।