दाङ : भोलि बुधबार हुने लागको राष्ट्रियसभा निर्वाचनको दाङमा तयारी पूरा भएको छ । लुम्बिनी प्रदेशबाट तीन सिटका लागि हुन लागेको निर्वाचनका लागि दाङको घोराही स्थित कर्मचारी मिलन केन्द्रमा मतदान स्थल तोकिएको छ । मतदान स्थलमा सबै तयारी पूरा भएको र विहान ९ बजेबाट मतदान सुरु हुने लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङले जानकारी दिएको छ । कार्यालयका अनुसार ४ वटा मतदान स्थल निर्माण गरेर मतदानको व्यवस्था मिलाइएको छ । आगामी फागुन २० गते १९ जना राष्ट्रियसभा सदस्यको कार्यकाल सकिदै छ ।
जसमा लुम्बिनी प्रदेशबाट कोमल ओली, दृगनारायण पाण्डे र रामलखन चमारको ४ बर्षे कार्यकाल सकिन लागेको छ । यी तीन सिटका लागि सत्ता गठबन्धन र नेकपा एमालेका उमेद्वार बीच प्रतिस्पर्धा हुँदैछ । जस अनुसार गठबन्धनबाट नेपाली कांग्रेस बाँकेका युवराज शर्मा, नेकपा एकीकृत समाजवादीबाट पाल्पाकी राज्यलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाको तर्फबाट रूपन्देहीका तुलबहादुर विश्वकर्मा उम्मेदवार रहनुभएको छ ।
एमालेको तर्फबाट दाङका रामदयाल गुप्ता, बाँकेकी भारती खनाल उपाध्याय र गुल्मीका कृष्ण सुनार उम्मेद्वार रहनुभएको छ । लुम्बिनी प्रदेशमा १२ जिल्लाका प्रदेशसभा सदस्य ८१ र १ सय ९ स्थानीय तहका प्रमुख र उपप्रमुख २ सय १५ जना गरी २९६ मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ ।