काठमाडौं : रशिला महर्जन विश्व ब्याडमिन्टन महासंघले हालै प्रकाशित गरेको विश्व वरीयतामा जुनियर महिला युगल तर्फ सातौं स्थानमा पुग्न सफल भएकी छिन्। जुनियर महिला एकल तर्फ १९ औं स्थानमा रहेकी राष्ट्रिय च्याम्पियन रशिला विश्व महिला जुनियर तर्फ उच्च स्थानमा पुगेकी पहिलो नेपाली महिला खेलाडी हुन्।
नेपाल ब्याडमिन्टन संघले प्रेस विज्ञप्ति जारी गर्दै महर्जनलाई बिश्व ब्याडमिन्टनको महिला जुनियरतर्फ उच्च स्थानमा पुग्दै नेपाल राष्ट्र, खेलकुद क्षेत्र र नेपाली ब्याडमिन्टनको शान, मानलाई उच्च राख्न सफल भएकोमा बधाई दिँदै आगामी दिनमा अझ मेहनतका साथ अगाडी बढ्न सफलता प्राप्त होस भन्दै शुभकामना व्यक्त गरेको छ। साथै संघले नेपाली आफूमाथि खेलाडीहरुको स्तरलाई कायम राख्न र अन्य खेलाडीहरुको स्तरलाई पनि उकास्न थप दवाब परेको र त्यसमा संघ सदा अग्रसर रहने विज्ञप्तिमा जनाएको छ।
विश्व ब्याडमिन्टन महासंघले हालै प्रकाशित गरेकोमा नेपालका अर्का उदियमान खेलाडी प्रिन्स दाहाल पुरुष जुनियर एकल तर्फ पहिलो नम्बरमा पुग्न सफल भएका थिए।








