गृहपृष्ठ Featured कपिलवस्तुमा रोकिएको कोरोना विरुद्धको खोप अभियान पुनः सुरु

कपिलवस्तुमा रोकिएको कोरोना विरुद्धको खोप अभियान पुनः सुरु

कपिलवस्तु : कपिलवस्तुका सात पालिकामा पाँच दिनदेखि रोकिएको कोरोना संक्रमणविरुद्धको खोप लगाउने अभियान पुनः सुरु गरिएको छ । सिरिन्ज र खोप अभाव हुँदा अभियान रोकिएको थियो । लुम्बिनी प्रदेश स्वास्थ्य निर्देशनालयबाट ७० हजार शून्य दशमलव ५ एमएमको सिरिन्ज र त्यति नै मात्रामा कोभिसिल्ड खोप आएपछि सर्वसाधारणलाई दोस्रो डोज खोप लगाउन सुरु गरिएको कोभिड फोकल पर्सन उमेश घिमिरेले बताए ।

कृष्णनगर, शिवराज र महाराजगन्ज नगरपालिका तथा विजयनगर गाउँपालिकामा खोप अभाव हुँदा एक दिनमै अभियान रोक्नुपरेको थियो । त्यहाँ माघ ६ गतेबाट कोभिसिल्डको दोस्रो डोज लगाउन सुरु गरिएको थियो । ३८ हजार ४ सयलाई खोप लगाउने लक्ष्य रहेकामा पहिलो दिन ८ हजारलाई खोप लगाउन नपाउँदै अभाव भएको हो । माघ ३ गतेबाट बुद्धभूमि र कपिलवस्तु नगरपालिका तथा यशोधरा गाउँपालिकामा सञ्चालित भेरोसेलको दोस्रो मात्रा लगाउने खोप कार्यक्रम पनि रोकिएको थियो । त्यहाँ सिरिन्ज अभाव हुँदा खोप लगाउन रोक्नुपरेको हो ।

पाँच दिनमा ४३ हजारलाई लगाइएकामा त्यहाँ ५७ हजारलाई खोप लगाउन बाँकी रहेकामा बुधबारबाट खोप लगाउन सुरु गरिएको छ । यहाँ ४८ प्रतिशतले मात्र दोस्रो मात्रा लगाएका छन् भने ७८ प्रतिशतले पहिलो डोज लगाएका छन् । यहाँ कोरोना संक्रमितको संख्या ३ सय पुगेको छ ।

यसै गरी १२ वर्षदेखि १७ वर्ष उमेर समूहका विद्यार्थीका लागि माघ १६ गतेबाट मोडर्ना खोपको दोस्रो मात्रा लगाइने भएको छ । यहाँका ७३ हजार ६ सय विद्यार्थीलाई पहिलो डोज खोप लगाइएको थियो ।

सम्बन्धित् समाचार