अर्घाखाँची : नेकपा (एमाले) सचिव टोपबहादुर रायमाझीले मुलुकको राजनीतिक नेतृत्वमा कांग्रेस र एमालेमात्रै अस्तित्वमा रहने बताएका छन् । माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा पार्टी खुद्रा पसल भएकाले तिनीहरु धेरै दिन टिक्न नसक्ने उनको भनाइ थियो । अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाको धारापानीमा आज शनिबार पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै रायमाझीले यस्तो बताएका हुन् ।
कम्युनिष्ट पार्टीको मूल नेतृत्व केपी शर्मा ओली नेतृत्वको एमाले नै रहेको उनले बताए । उनले आफू केपी ओलीको सहयोगी भएको बताए । दाहाल अहिले राजनीतिक बिचलनमा भएको उनको टिप्पणी छ । उनले एमालेविरुद्ध भएको ५ दलीय गठबन्धनले समयमै चुनावको मिति घोषणा नगरेर संविधानविपरीत जान खोजेको बताए । उनले आउने सबै चुनावमा एमालेले जित्ने र गाउँको विकास निर्माणका कामलाई अगाडि बढाइने बताए ।
धारापानीमा राष्ट्रिय जनमोर्चाका युवा नेता माधव बञ्जाडेको नेतृत्वमा माओवादी केन्द्रसहित ५२ जना स्थानीय कार्यकर्ता एमालेमा प्रवेश गरेको एमाले जिल्ला सचिव तोजबहादुर रायमाझीले बताए ।