गृहपृष्ठ Featured कपिलवस्तुमा मधेशी जातजातिलाई खसआर्य सुचिबाट हटाउन माग

कपिलवस्तुमा मधेशी जातजातिलाई खसआर्य सुचिबाट हटाउन माग

प्रकाशित मिति:

तौलिहवा : कपिलवस्तु जिल्लामा मधेशी जातजातिलाई खसआर्य सुचिबाट हटाउन माग गर्दे जिल्ला प्रशासन कार्यालय कपिलबस्तु मार्फत राष्ट्रिय समावेशी आयोगलाई ज्ञापन पत्र बुझाइएको छ । राष्ट्रिय समावेशी आयोग खस आर्यको सूचिमा मधेशी जातजातीहरुलाई समेत समावेश गरी सूचि तयार गरेकोप्रति गम्भिर आपत्ति जनाएका छन् ।

आयोगको मिति २०७८ पौष ८ गते प्रकाशन गरेको सूचिमा मधेशका तिवारी, पाठक, बनियाँ, राय, यादव, ब्रम्हण, गुप्ता, मण्डल, पाण्डेय, महारा, श्रीवास्तव, चौहान, मेहता, रावत लगायतका जातजातीलाई खस आर्यभित्र समावेश गरी सुचि प्रकाशन गरेको छ । नेपालको संविधानको धारा (४२) को उपधारा (१) तथा धारा (८४)को उपधरा (२) र यसको स्पष्टिकरणले हामी समुदायलाई स्पष्ट रुपमा वर्गिकरण गरी सामाजिक न्यायको ग्यारेण्टी गरेको छ । मधेशी समुदायका बहुसंख्यक जातजातिलाई मधेशीको सूचिबाट हटाएर अल्पसंख्यक बनाउने र सरकारको हरेक निकायमा आरक्षण हटाइ खस आर्यकै आरक्षण अभिबृद्धि गरी मधेशी समुदायमाथि घात गर्ने बदनीयतपूर्ण यस्तो सूचि आएका हुन सक्ने प्रारम्भिक अनुमान गर्दै यसलाई तत्काल खारेजीको माग गर्दै प्रतिनिधि सभा सदस्य बृजेश कुमार गुप्ताको नेतृत्वको टोलीले प्रजिअ चक्रपाणी पाण्डेलाई उक्त ज्ञापन पत्र बुझाएको हो ।

सो अवसरमा राष्ट्रिय सभा सदस्य दिर्घनारायण पाण्डेय, प्रदेश सभा सदस्य धर्मबहादुर लाल श्रीवस्ताव, कपिलबस्तु नगरपालिकाकी नगरउप प्रमुख लक्ष्मी गुप्ता, मायादेवी गाँउपालिकाका अध्यक्ष बजरंगी कुर्मी, यशोधरा गाँउपालिकाकी उपाध्यक्ष कन्यावति उपाध्याय, कपिलबस्तु नगरपालिका वडा नं. १ का वडाध्यक्ष सुदीप पौडेल, वडा नं. ४ का वडाध्यक्ष रविन्द्र प्रताप तिवारी लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित् समाचार