दाङ : दाङमा डेढ करोड ठगी गरेको आरोपमा तुलसीपुर उपमहानगरपालिका मेयर घनश्याम पाण्डेका छोरा अनुप पाण्डेविरुद्ध प्रहरीमा उजुरी परेको छ । घोराही उपमहानगरपालिका–१५ भरतपुरका व्यवसायी गेहेन्द्र बस्नेतले निर्माण व्यवसायी अनुप पाण्डेले आफूसँग डेढ करोड रुपैयाँ ठगी गरेको भन्दै प्रहरीमा उजुरी दिनुभएको हो।
व्यवसायी बस्नेतले घोराही–तुलसीपुर सडक निर्माणको क्रममा आफ्नो टिपर प्रयोग गरेको र भाडा तथा इन्धनबापतको रकम एक करोड ४४ लाख रुपैयाँ नदिएको भन्दै पाण्डेविरुद्ध ठगी मुद्दामा अनुसन्धान गर्न उजुरी दिनुभएको हो ।
आफू बाध्य भएर कानुनी उपचार खोज्न प्रहरीमा जानु परेको उहाँले बताउनुभयो ।
पैसा आउला भनेर पर्खे पनि सम्पर्कमा नआई झुलाउने, भाग्ने र शक्तिकेन्द्रको धम्की दिने गरेको पनि व्यवसायी बस्नेतले बताउनुभयो।
घोराही–तुलसीपुर सडक विस्तारसँगै कालोपत्रे गर्ने जिम्मा पाएको भारतीय निर्माण कम्पनी तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रालिले स्थानीय अनुप पाण्डेको अष्टभैरव निर्माण सेवा कम्पनीलाई पेटी ठेक्का दिएको थियो । समयमै काम गर्न नसकेपछि भारतीय निर्माण कम्पनी तथ्यले पाण्डेसँग सम्झौता तोडेको थियो ।
जिल्ला प्रहरी प्रमुख प्रहरी कार्यालयका प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले आफू बाहिर भएकाले यसबारे जानकारी नभएको बताउनुभयो। डिएसपी मुकुन्दप्रसाद रिजालले थाहा नभएको प्रतिक्रिया दिए ।








