काठमाडौं : नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघमा आवद्ध विद्यार्थीहरूले शीघ्र संघको महाधिवेशन गर्न पार्टी नेताहरूलाई दवाव दिन सुरु गरेका छन् ।
सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न क्याम्पसमा अध्ययनरत विद्यार्थीहरूले नेविसंघको महाधिवेशन तत्काल गर्न माग गर्दै दवाव दिन सुरु गरेका हुन् ।
नेविसंघलाई गतिशील बनाइ क्याम्पसहरूको शैक्षिक गतिविधिलाई प्रभावकारी बनाउन पनि छिटोभन्दा छिटो विधानसम्मत ढंगले तदर्थ समिति गठन गरी संघको महाधिवेशन सम्पन्न गर्न पार्टी नेताहरूलाई दवाव दिने अभियान सुरु गरिएको नेविसंघमा आवद्ध विद्यार्थी विनोदराज जोशीले बताउनुभयो ।
त्यसक्रममा विद्यार्थीहरूले नेविसंघको महाधिवेशन छिटोभन्दा छिटो सम्पन्न गराउन दवाव दिँदै पार्टीका केन्द्रीय सदस्य एवं नेविसंघका पूर्व अध्यक्ष नैनसिंह महरलाई अनुरोधपत्र पनि बुझाएका छन् ।