रुकुम पूर्व : रुकुमपूर्वमा पुनः हिमपात भएपछि जनजीवन प्रभावित भएको छ। पहिले परेको हिउँ पूर्ण रूपमा बिलाउन नपाउँदै बिहीबार रातिदेखि पुनः हिमपात भएको हो। हिमपातले लेकाली बस्ती सेताम्य भएका छन्। हिमपातसँगै अत्याधिक चिसो बढेको छ।
पटकपटक हिमपात भएपछि बाली सप्रिने आशाले किसानहरु खुसी भएका छन्। पुसमा बाक्लो हिउँ परेपछि अन्नबाली, फलफूल, जडीबुटी सप्रिने किसानको भनाइ छ।
सडक अवरुद्ध
बाक्लो हिमपातका कारण यातायात सेवा अवरुद्ध भएको छ। सदरमुकाम रहेको रुकुमकोटदेखि पुथाउत्तरगंगा गाउँपालिका जाने सहिदमार्गमा बाक्लो हिउँ जमेकाले अवरुद्ध बनेको छ।
यसैगरी रुकुमकोटदेखि बाग्लुङ भएर काठमाडौं जाने मध्यपहाडी लोकमार्ग पनि अवरुद्ध भएको पूर्वी यातायात प्रालिका इञ्चार्ज सनम गौतमले बताए। यसअघि परेको हिउँले पन्छाएर सडक सञ्चालन भएको केही दिन मात्र भएको थियो।
हिउँ अहिले पनि परिरहेकाले जनजीवन अस्तव्यस्त भएकोे छ। वस्तुभाउलाई गोठमै राखिएको छ। सर्वासाधरण घरभित्र आगो तापेर बसिराखिएको पुथाउत्तरगंगा गाउँपालिका–१२ कोलका बहादुर बिकले बताए।








