भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट थप एक लाख ४९ हजार ३९४ सङ्क्रमण पुष्टि भएको छ। केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयका अनुासर सोही अवधिमा थप एक हजार ७२ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो। भारतमा कोरोना सुरु भएदेखि हालसम्म यस रोगबाट ज्यान गुमाउने संख्या ५ लाख नाघेको मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार भारतमा कोरोनाका कारण ज्यान गुमाउने व्यक्तिको सङ्ख्या पाँच लाख ५५ जना पुगेको हो । कोरोना सङ्क्रमणको कारण ज्यान गुमाउने सबभन्दा धेरै महाराष्ट्र राज्यका नागरिक रहेका जनाइएको छ ।
महाराष्ट्रमा कोरोना सङ्क्रमणको कारण एक लाख ४२ हजार ८५९ व्यक्तिको मृत्यु भएको छ । त्यसपछि केरलामा ५६ हजार ७०१, कर्नाटकामा ३९ हजार १९७ , तमिल नाडूमा ३७ हजार ६६६, दिल्लीमा २५ हजार ९३२ र उत्तर प्रदेशमा २३ हजार २७७ जनाको कोरोनाको कारण ज्यान गएको भारतीय सञ्चार माध्यमहरुले जानकारी दिएको छ ।
हाल भारतमा कोभिड(१९ कूल सङ्क्रमितको संख्या चार करोड १९ लाख ५२ हजार ७१२ जना पुगेको जनाइएको छ । ती मध्ये हाल सक्रिय सङ्क्रमितको संख्या १४ लाख ३५ हजार ५६९ रहेका छन् । कूल सङ्क्रमितको ३.४२ प्रतिशत सक्रिय सङ्क्रमित रहेका छन्।
यस्तै पछिल्लो २४ घण्टामा भारतमा दुई लाख ४६ हजार ६७४ कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै कोरोना सुरु भएयता हालसम्म चार करोड १७ हजार ८८ जनालाई कोरोनामुक्त भएका हुन्।