सागर वि.क.(वैखरी अनलाईन) : कपिलवस्तुमा गएरातीदेखि परेको वर्षाका कारण जिल्लावासीको जनजीवन प्रभावित भएको छ । यो जाडोको समयमा बर्षा हुदाँ थप जनजीवन प्रभावित भएको हो । जाडोसंगै पानी पदाँ चिसो छल्न आगो तापेर बस्नु पर्ने बाध्यता आइपरेपछि दैनिक ज्याला मजदुरी गर्ने परिवारलाई थप समस्या सिर्जना भएको छ । आगो तापेर बस्नु पर्दा दैनिक छाक टार्न समस्या भएको दैनिक ज्याला मजदुरी गरेर जीवनयापन गर्नेहरुले दुखेसो पोखेका छन् ।

कठ्यांग्रिदो चिसोसँगैको पानीले बिहानैदेखि कपिलवस्तुको जनजीवन प्रभावित भएको अवस्था छ । जिल्लामा पानी पर्दा सर्वसाधारण थप कठ्यांग्रिएका छन् । चिसो छल्न जिल्लावासीले जसोतसो आ–आफ्नो घर तथा चोक बजारमा आगो बालेर तापिरहेका छन् । तर बर्षाले घरको बाहिर तथा चोकचोकमा आगो बालेर बस्ने अवस्था नहुदाँ सर्वसाधरणको जनजीवन थप प्रभावित भएको हो । घाम नलागेर बर्षाले थप कठ्यांग्रिदो चिसो भएपछि बालबालिका र वृद्धवृद्धामा धेरै प्रभावित भएका छन् ।
चिसोले शारीरिक रूपमा कमजोर रहेका स–साना बालबालिका, वृद्धवृद्धाहरुलाई धेरै जोखिम रहने चिकित्सकहरूको सुझाव छ । चिसोका कारण अहिले रुघाखोकी लाग्ने, घाँटी, टाउको र छाती दुख्ने, ज्वरो आउने समस्याका विरामी प्रत्येक घरका रहेका छन् । यस्ता लक्षणका कारण कोरोना संक्रमणको जोखिम आशंकाले समुदायका थप त्रास सृजना गरेको छ । यस्तो अवस्थामा सकेसम्म घरभित्रै बस्न, बाहिर निस्कँदा शरीरमा चिसो नपस्ने गरी न्यानो कपडा लगाउन र बेलाबेलामा तातो र झोलिलो खानेकुरा धेरै खान चिकित्सकहरूले आग्रह गरेका छन् ।

यसैबीच कपिलवस्तुमा गएरातीदेखि परेको वर्षाका कारण किसानले लगाएका तरकारी खेतीमा क्षति पुगेको छ । जिल्लाको बाणगंगा, बुद्धभूमि, कृष्णनगर, मायादेवी, यशोधराका अधिकांश स्थानमा किसानले लगाएका तरकारी बालीमा क्षेति पुगेको किसानहरुले गुनासो गरेका हुन् । कृषकले लगाएका आलु, लसुन, टमाटर, गोपी लगायतका तरकारीमा क्षति पुगेको किसानहरुले गुनासो गरेका छन् । आलु खान्नका लागी तयार भएका बेला बेमैसमी बर्षाले आलु कुहिने अवस्थामा पुगेको भन्दै किसान चिन्तित भएका छन् । आलुसंगै खेतमा लगाईएको तोरी, मसुरो, केराउ लगायतका दलहन बालीलाई समेत क्षति गरेको कृषकहरुको गुनासो छ । वर्षाले गर्दा ब्यवसायिक आलु खेती गर्ने कृषकहरु बढी मारमा परेका छन् ।








