मोरङ : पूर्व–पश्चिम राजमार्गस्थित सुनसरीको भोक्राहा नरसिहं गाउँपालिका–३ खुनिया पुलमा यात्रुबाहक बस र ट्रक शुक्रबार राति ठोक्किएर आगलागी हुँदा ३ जनाको मृत्यु भएको छ भने २७ जना घाइते छन् ।
झापाको गोलधाप–१ घर भएका बस चालक ४५ वर्षीय सरोज राई, बसमा सवार भारत पश्चिम बंगालको कालचोनीका २५ वर्षीय निहाल प्रधान र बाराको निजगढ नगरपालिका–९ घर भएका ट्रक चालक २७ वर्षीय शेख फिरोजको जलेर मृत्यु भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
घाइते भएका बसमा सवारमा अन्य २७ जना यात्रुको सुनसरी र विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक नविनराज राईले बताए ।
पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ८ ख ८४९३ नम्बरको यात्रुबाहक बस र विपरीत दिशाबाट आएको ना ५ ख २९९६ नम्बरको ट्रक शुक्रबार राति साढे सात बजे एक आपसमा ठोक्किँदा दुर्घटना भएको उनले बताए । ‘घटनाको जानकारी पाएलगत्तै खटिएको सुनसरी प्रहरीले सवारीसाधनहरुबाट मानिसहरु उदार गर्ने क्रममा अचानक दुवै सवारीसाधनमा आगलागी भएको थियो,’ राईले भने, ‘आगालागीबाट बस र ट्रकमा चेपिएका ३ जनाको जलेर मृत्यु भएको र अन्य घाइते भएका हुन् ।’
दमकलको सहयोगमा प्रहरी र स्थानीयले आगलागी नियन्त्रणमा लिएको उनले जानकारी दिए ।