गृहपृष्ठ Featured सगरमाथामा २ हजार वर्षमा बनेको हिउँ ३० वर्षमै पग्लियो

सगरमाथामा २ हजार वर्षमा बनेको हिउँ ३० वर्षमै पग्लियो

प्रकाशित मिति:

काठमाडौँ : सर्वोच्च शिखर सगरमाथा क्षेत्रको हिमनदीमा हिउँ पग्लिने क्रम अत्यधिक बढेको एक वैज्ञानिक अध्ययनले देखाएको छ । अध्ययनअनुसार दुई हजार वर्षमा बनेको हिउँ जलवायु परिवर्तनका कारण ३० वर्षमै पग्लिएको हो । हिउँ पग्लिने क्रम सन् १९९० को दशकयता बढेको भर्खरै प्रकाशित नेचर जर्नलको ‘क्लाइमेट एन्ड एट्मोस्फेयरिक साइन्स’ मा उल्लेख छ ।

अध्ययनमा अमेरिकाको युनिभर्सिटी अफ मेनअन्तर्गतको क्लाइमेट चेन्ज इन्स्टिच्युटका वैज्ञानिक सहभागी थिए । उनीहरूको अध्ययनले सगरमाथाको साउथ कोल ग्लेसियर ९८०२० मिटर० र आसपासको हिमनदीमा करिब दुई हजार वर्षको अवधिमा जम्मा भएको हिउँ २५ वर्षमै पग्लिएको उल्लेख छ । करिब ३० वर्षको अवधिमा साउथ कोल ग्लेसियरमा हिउँको तह ५४ मिटरले घटेको अध्ययनले देखाएको छ ।

उक्त हिमनदीमा पहिलो हिउँ जम्न लागेको समयभन्दा पग्लिने गति ८० गुणा बढी छ । यसरी द्रुत गतिमा पग्लिनुमा तापक्रम वृद्धि र अन्य मानवीय गतिविधि कारण रहेको विज्ञहरूले उल्लेख गरेका छन् ।

जल तथा मौसम विज्ञान विभागका महानिर्देशक सरजुकुमार वैद्यका अनुसार अनुसन्धानकर्ताहरूले हिउँ भएको क्षेत्रको मौसमको अनुगमन गर्ने दुईवटा जल तथा मौसम अनुगमन केन्द्र खडा गरेका थिए । ती स्टेसनले पनि अनुसन्धानलाई बलियो बनाउन मद्दत गरेको थियो ।

अध्ययनमा संलग्नमध्येका युनिभर्सिटी अफ मेनका डा। मारियुस पोटोस्कीले सगरमाथाको साउथ कोल हिमनदी मासिने क्रममा रहेको उल्लेख गरेका छन् । किङ्स कलेज लन्डनका वैज्ञानिक डा। टम म्याथ्युजले एक्कासि त्यति धेरै हिउँ पग्लिने धेरै कारण नदेखिए पनि तापमान वृद्धि हुन सक्ने बताएका छन् । विगतमा खुम्बु क्षेत्रका हिमनदीको अवस्थाबारे अध्ययन भए पनि उच्च क्षेत्रका हिमनदीमा तापक्रम वृद्धिका कारण परेको असरबारेमा विस्तृत अध्ययन भएको थिएन । यो अध्ययनमा १० जना वैज्ञानिक संलग्न थिए ।

विगतमा बेलायतको युनिभर्सिटी अफ लिड्सका हिमनदी र हिमताल विज्ञ डंकन क्वेन्सीले गरेको अध्ययनले पनि खुम्बु क्षेत्रका हिमनदीको पिँधको बरफमा अस्वाभाविक रूपमा तापक्रम बढिरहेको देखाएको थियो । उक्त अध्ययनअनुसार हिमनदीको तापक्रम वायुमण्डलको भन्दा औसत २ डिग्री बढी पाइएकाले हिउँ पग्लिने क्रमसमेत बढेको हो ।

सम्बन्धित् समाचार