दाङ : दाङमा फोहोरबाट ग्याँस उत्पादन गर्न सुरू भएको छ । नेपाल ऊर्जा विकास कम्पनीले घोराही उपमहानगरपालिका–१६ मा प्लान्ट स्थापना गरी फोहोरबाट ग्याँस उत्पादन सुरु गरेको हो ।
कम्पनीका अनुसार तीन महिना अघिदेखि फोहोरबाट ग्याँस उत्पादन गर्न सुरु गरिएको हो । अहिले दैनिक तीन सय घनमिटर ग्याँस उत्पादन हुने गरेको छ । ‘प्लान्टमा गल्ने फोहोर नै कम राखिएकाले कम ग्याँस उत्पादन भएको हो,’ ग्याँस प्लान्टका म्यानेजर हरिशहरण श्रेष्ठले भने, ‘केही महिनामै क्षमता बढाएर उत्पादन वृद्धि गर्छौं ।’
घोराही उपमहानगरपालिकाबाट दैनिक उठ्ने (गल्ने) फोहोरबाट ग्याँस उत्पदान हुने कम्पनीले जानकारी दिएको छ । प्लान्टबाट उत्पादन भएका ग्याँसलाई पाइपलाइनबाटै घर–घर पुर्याइने लक्ष्य रहेको प्लान्टका म्यानेजर श्रेष्ठले बताए ।
उनका अनुसार पहिलो चरणमा सात सय ५० घरधुरीमा पाइपलाइनबाटै ग्याँस पुर्याउने भनेर सर्भे गरिएको छ । जसअनरुप फोहोरबाट उत्पादीत ग्याँस सर्रादेखि नारायणपुरसम्म पुर्याइने भनिएको छ ।