रुपन्देही : लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले राष्ट्रिय महिला आयोगको संरचना प्रदेशमा आवश्यक रहेको भन्दै प्रदेशमा संरचना स्थापना लागि सरकारले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
बुटवलमा आज राष्ट्रिय महिला आयोगका सदस्य एवं प्रतिनिधिहरूसँग भेटघाट एवं वार्षिक प्रगति प्रतिवेदन ग्रहण गर्दै उनले सो प्रतिवद्धता जनाएका हुन् । मुख्यमन्त्री केसीले लैंगिक हिंसाका घटनाहरु तीव्र रुपले बढि रहेकाले यसलाई कानूनी रुपमा सहजीकरण गर्नका लागि सबैको सहयोग आवश्यक रहेको बताए ।
प्रतिनिधिहरुसँगको कुराकानीका क्रममा उनले नेपालको संविधान २०७२ ले राष्ट्रिय महिला आयोग अन्तर्गतको संघीय आयोगको संरचना नै प्रदेशमा पठाउनुपर्ने बताए । प्रदेश र जिल्लास्तरमा समेत महिला आयोगको आवश्यकता रहेको उनको भनाई थियो ।
कार्यक्रममा राष्ट्रिय महिला आयोगका सदस्य विद्याकुमारी सिन्हाले राष्ट्रिय महिला आयोगको संरचना निर्माणका लागि धेरै समय लागेको बताउँदै अब त्यसको संरचना र कार्यालय ७ वटै प्रदेशमा स्थापना गर्ने योजना सुनाइन् । उनले लुम्बिनी प्रदेशमा पनि छिट्टै प्रदेश कार्यालय स्थापनाको तयारी रहेको जानकारी दिइन् ।
कार्यक्रममा प्रदेशसभा सदस्यहरु, राष्ट्रिय महिला आयोग कार्यालयका उप–सचिव चन्द्रा भट्टराई, मनोसामाजिक परामर्शदाता पार्वती सुवेदी समेतको उपस्थिति रहेको मुख्यमन्त्रीका प्रेस संयोजक मानसिंह विश्वकर्माले जानकारी दिए ।