काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले अमेरिकी सहायता परियोजना एमसीसीमा प्रमुख प्रतिपक्षी एमाले गैरजिम्मेवार बनेको टिप्पणी गरेको छ ।
बिहीबार बेलुका प्रचण्ड र ओलीबीच टेलिफोन सम्वाद भएको जानकारी दिँदै सचिवालयले ओलीले गैरजिम्मेवार जवाफ फर्काएको उल्लेख गरेको छ ।
प्रचण्डका स्वकीय सचिव रमेश मल्लले टेलिफोन सम्वादमा ओली गम्भीर नदेखिएको बताए ।
उनकाअनुसार अध्यक्ष प्रचण्डले एमसीसी राष्ट्रिय राजनीतिको मुद्दा बनेकाले सत्ता र प्रतिपक्षको मानसिकताबाट माथि उठेर छलफल गर्न प्रस्ताव गरेका थिए । ‘यसमा तपाईं र तपाईंको पार्टीको धारणा स्पष्ट गर्नुस् र यसमा राष्ट्रिय सहमति निर्माण गर्ने कोसिस गरौं,ु प्रचण्डले भनेका थिए, ुदेश अहिले निर्वाचनमा होमिएको र एमसीसीमा दलहरूबीच र राष्ट्रिय रुपमा सहमति बन्ने स्थिति नभएको अवस्थामा सम्बन्धित पक्षसँग यसलाई निर्वाचन पछि लैजाने कुरा गरौं ।’
तर एमाले अध्यक्ष ओलीले त्यसलाई गम्भीरतापूर्वक नलिएको मल्लको भनाइ छ । ‘उहाँले बरु तपाईंहरुससँग बहुमत छ, पास गर्नुस्। तर गैरसांसद रहँदासम्म संसद चल्न भने दिन्नौ भनेर पुरै गैरजिम्मेवार जवाफ फर्काउनु भयो,’ मल्लले भने ।
टेलिफोन वार्ताबारे अरु कुनै भ्रममा नपर्न उनले आग्रहसमेत गरेका छन् ।








