काठमाडौं : नेपाल र प्रजातान्त्रिक गणतन्त्र टिमोर–लेस्टेबिच कूटनीतिक सम्बन्ध स्थापना भएको छ। यो सँगै नेपालसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध भएका देशको संख्या १७३ पुगेको छ।
संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र टिमोर-लेस्टेका स्थायी प्रतिनिधि कार्लिटो नुनेसले कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त पत्रमा शुक्रबार हस्ताक्षर गरेका हुन्।
दुवै राजदूतले राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसलाई नेपाल र टिमोर–लेस्टेबीच कूटनीतिक सम्बन्ध स्थापना भएको जानकारी गराउने सम्बन्धी संयुक्त पत्रमा पनि शुक्रबार नै हस्ताक्षर गर्नुभएको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि स्थायी नेपाली नियोगले आज जनाएको छ ।
त्यस अवसरमा दुवै देशका राजदूतले राष्ट्रिय तथा बहुपक्षीय परिवेशमा विशेषगरी राष्ट्रसंघीय मञ्चहरूमा साझा हितका विभिन्न विषयमा द्विपक्षीय सहयोगलाई अझ सुदृढ तुल्याउने विषयमा विचार व्यक्त गरेका थिए।
प्रजातान्त्रिक गणतन्त्र टिमोर-लेस्टे दक्षिणपूर्व एसियामा अवस्थित १५ हजार वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको देश हो। १३ लाख ७० हजार जनसंख्या भएको उक्त देशले २७ सेप्टेम्बर २००२ मा राष्ट्रसंघको १९१औँ सदस्यको रुपमा प्रवेश पाएको हो।
नेपाल र टिमोर-लेस्टे असंलग्न आन्दोलनका सदस्य हुन्।