गृहपृष्ठ Featured अमेरिका र युक्रेनका राष्ट्रपतिबीच फोनवार्ता

अमेरिका र युक्रेनका राष्ट्रपतिबीच फोनवार्ता

प्रकाशित मिति:

अमेरिकाका राष्ट्रपति जो बाइडेन र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच फोनवार्ता भएको छ। युक्रेनमा पछिल्लो समयमा देखिएको सुरक्षा अवस्थाबारे उनीहरूबीच आइतबार फोनवार्ता भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

यस विषयमा कुराकानी गर्न अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेनी राष्ट्रपति जेलेन्स्कीलाई फोन गरेका ह्वाइटहाउसले जनाएको छ। रुसका कारण यतिवेला युक्रेनमा सुरक्षा खतराको अवस्था देखिएको बाइडेनले बताएका छन्। अमेरिकाले रुसले जुनसुकै वेला पनि युक्रेनमाथि हवाई बमबारी गरेर हमला सुरु गर्न सक्ने बताउँदै आएको छ।

यही कारण दर्शाएर एक दर्जनभन्दा धेरै देशले त्यहाँबाट आफ्ना नागरिकलाई घर फर्कन आग्रह गर्नुका साथै आफ्ना दूतावासका कर्मचारीलाई फिर्ता लगेका छन्। समाचार स्रोतहरूले अमेरिकाले किभबाट आउँदो ४८ घन्टामा आफ्ना सबै कर्मचारीलाई फिर्ता लैजाने तयारी गरिरहेको जनाएका छन्। तर, सो समाचारको स्वतन्त्र रूपमा पुष्टि हुन भने सकेको छैन।

यसअघिदेखि नै अमेरिका, बेलायतलगायतका कतिपय पश्चिमा देशले पनि युक्रेनबाट आफ्ना कर्मचारी फिर्ता लगेका छन्। उता युक्रेनका राष्ट्रपति जेलेन्स्कीले भने रुसी हमलाको योजनाबारे आफूले कुनै प्रमाण नदेखेको बताएको समाचारमा उल्लेख छ। रासस/सिन्ह्वा

सम्बन्धित् समाचार