मनोज पौडेल(लुम्बिनी) : बुद्ध जन्मस्थल लुम्बिनीमा एकपछि अर्को गुरुयोजनाविपरीतका कामले प्रश्रय पाउन थालेका छन् । लुम्बिनीको क्याम्पिङ ग्राउन्डमा रिसोर्ट बनाउनका लागि जमिन हडप्न भइरहेको प्रयास सेलाउन नपाउँदै गुरुयोजनामा कल्पना नगरिएको ठाउँमा विशाल बुद्धमूर्ति निर्माण थालिएको हो ।
महायानी सम्प्रदायको विहार गुम्बा भएको पश्चिमी क्षेत्रस्थित ड्रिगुङ काग्युद धर्मराजा फाउन्डेसनद्वारा निर्मित द ग्रेट लोटस स्तूपा दक्षिण र युनाइटेड टुंगारामा विहार उत्तरको लुम्बिनी स्क्वायर (वेस्ट पोन्ड) मा मूर्ति निर्माण भइरहेको छ । १ सय ६० मिटर गुणा १ सय ६० मिटर क्षेत्रफल रहेको लुम्बिनी स्क्वायरको हरियाली र प्राकृतिक वातावरण नासेर मूर्ति बनाइँदै छ । बीचमा रहेको बगैंचा र मनोरम स्थलमा क्रंकिटको बुद्धमूर्ति ठड्याइँदै छ । गुरुयोजनामा यहाँ बनाउने कुरा उल्लेख छैन ।
गुरुयोजनाविपरीत लुम्बिनी विकास कोषले मूर्ति बनाउन स्वीकृति दिएको छ । त्यसको बीच भागमा डेढ महिनादेखि धमाधम मूर्ति बनाइँदै छ । मूर्ति राख्न बनाइएको आसन २२ फिट अग्लो छ । त्यसमाथि १२ फिट अग्लो मूर्ति बनाइएको छ । शाक्यमुनि बुद्धको अर्धकदको मूर्ति यहाँ राख्न थालिएको हो ।
करिब २२ गुणा २२ मिटरको जग्गामा बनाइँदै गरिएको मूर्ति परिक्रमा गर्न चारैतिर ६/६ मिटरको पक्की बाटो बनाइनेछ । मूर्तिसम्म पुग्न पूर्वतिरबाट बाटो खोलिनेछ । त्यसलाई पनि पक्की बनाइनेछ । मूर्तिलाई सिन्धुपाल्चोकबाट कालिगड ल्याएर बनाइँदै छ । सिमेन्टको ढलान गरी बनाइएको मूर्तिभित्र तिब्बती धार्मिक मन्त्र लेखेको तीन टन बढी कागज राखिसकिएको छ ।
मूर्ति रहने आसन कमलको फूलभित्र पाँच टन बढी धार्मिक मन्त्र लेखेका कागज राखिएको छ । उक्त मन्त्र लामागुरुले एक महिना बढी लगाएर लेखेका हुन् । कागज राख्दा धार्मिक विधिपूर्वक पूजाआजा गरिएको थियो । उक्त मूर्ति करिब एक करोड रुपैयाँको लागतमा बनाउन लागिएको हो ।
यहाँ पुग्न चारै दिशाबाट बाटो बनाइएको छ । मूर्ति निर्माणपछि पूर्वतिरबाट मात्र बाटो निर्माण गरेर खोलिनेछ । अप्रिलभरिमा काम सक्न भनिएको छ । लुम्बिनीलाई विश्व शान्तिको पर्यटकीय मुहान बनाउनुभन्दा आफ्नो स्वार्थको मुहान बनाउन खोज्दा क्रंकिटले कुरूप बन्दै गएको स्थानीय हुसैनी लोधले बताए ।
‘यहाँ नीति नियमको खिल्ली उडाइन्छ,’ उनले भने, ‘दबाब, प्रभाव र स्वार्थको कामले प्रश्रय पाउँदा दिनानुदिन लुम्बिनीको पवित्रता घट्दै गएको छ ।’ यसले लुम्बिनी गुरुयोजनाका लागि अधिग्रहण गरिएको १ हजार ६ सय ५५ घरपरिवारको आस्थामा चोट पुगेको उनले बताए ।
यहाँ मूर्ति राख्न अजितमान तामाङ सदस्य–सचिव भएका बेला (०६९–०७४ मंसिर) प्रस्ताव पेस गएिको थियो । तर, उनले गुरुयोजनाविपरीत काम नगर्ने भन्दै निर्माणको अनुमति दिएका थिएनन् । तर, अहिलेको नेतृत्वले सहजै प्रस्ताव स्वीकार गरेर अनुमति दिएको हो । एक वर्षअघि उपाध्यक्षस्तरीय निर्णय भएर मूर्ति निर्माण गर्न अनुमति दिएको सदस्य–सचिव सानुराजा शाक्यले बताए ।
लुम्बिनीको आध्यात्मिकता बढाउन मूर्ति निर्माण गर्नु नराम्रो नभएको उनले बताए । ‘सुरुमा उनीहरूको मैत्री बुद्धको मूर्ति बनाउने योजना थियो,’ उनले भने, ‘तर, आफूहरूले बनाउन नदिने भनेपछि शाक्यमुनि बुद्धको मूर्ति बनाउन लागेका हुन् ।’
यस विषयमा कोषका अन्य अधिकारी र कर्मचारी कोही बोल्न चाहँदैनन् । एकले अर्कोलाई सोध्नुपर्ने भन्दै पन्छिने गरेका छन् । कोषको इन्जिनियरिङ शाखासँग योजनाको विस्तृत ड्रोइङ, डिजाइन र बजेट माग्दा योजना शाखामा सोध्न भन्छन् । त्यहाँ बुझ्दा उपल्लोस्तरका पदाधिकारीसँग बुझ्न भनिन्छ ।
उक्त मूर्ति ड्रिगुङ काग्युद धर्मराजा फाउन्डेसनले निर्माण गरिरहेको हो । त्यसका लागि जर्मनमा रहेको तारा फाउन्डेसनले विदेशमा रकम संकलन गरिरहेको छ । तारा फाउन्डेसनमा जर्मनमा रहेका तिब्बतीहरू संलग्न छन् । दुवै फाउन्डेसनमा महायानी सम्प्रदायको तिब्बती परम्परा मान्ने लामागुरु र अनुयायी छन् । लुम्बिनीमा भने विदेशी नागरिक फर्नान्डिजले फाउन्डेसन सञ्चालन गरिरहेका छन् ।
‘भूमिगत शैलीमा बस्ने उनी भिक्षु पनि होइनन्, लामा पनि होइनन् । त्यही भएर बेलाबेला उनका बारेमा प्रश्न उठ्ने गर्छ,’ कोषका एक अधिकृतले भने । मूर्ति निकै सतर्कतासाथ निर्माण गरिँदै छ । चारैतिरबाट यहाँ पुग्ने बाटोमा प्रवेश निषेध लेखिएको छ । उक्त बाटोमा बाँसका लामालामा घारा तेर्स्याएर बार लगाइएको छ ।
भित्र कोही पसिहाले फाउन्डेसनले राखेका निजी सुरक्षाकर्मीले निकाल्ने गरेका छन् । त्यसका लागि निगरानी गर्न दिनभरिजसो फाउन्डेसनका लुम्बिनी व्यवस्थापक तारा कट्टेल खटिएका हुन्छन् । तस्बिर र भिडियो खिच्न दिइँदैन ।
‘गुरुयोजनामा मूर्ति निर्माणको विषय समावेश छैन,’ कोषका एक अधिकृतले भने, ‘तर, त्यति नराम्रो काम नहुँदा आफूहरू आँखा चिम्लेर बसेका छौं ।’ कसैले सोधखोज गरे भन्छौं, नभए चुप लागेर बस्ने उनले सुनाए । निकै संघर्ष र मिहिनेतपछि कोषले अनुमति दिएकाले सक्दो छिटो सम्पन्न गर्ने गरी काम गरिरहेको फाउन्डेसनका व्यवस्थापक कट्टेलले बताए ।
‘अहिले लुम्बिनीमा बेथिति र विकृतिले मात्रै प्रश्रय पाएको छ,’ कोषका वरिष्ठ अधिकृतले भने, ‘अब के कुरा गुरुयोजनाअनुसार भए भनेर खोज्नुपर्ने बेला आएको छ ।’ सन् १९७८ मा जापानी आर्किटेक्ट केन्जो टाँगेले बनाएको गुरुयोजना अहिले टाँगे गुरुयोजना होइन, पदाधिकारी गुरुयोजना बनेको उनले सुनाए ।








