काठमाडौं : सत्ता गठबन्धनको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहीबेरअघि बैठक सुरु भएको प्रधानमन्त्रीका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए ।
बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा र जनमोर्चाका प्रतिनिधि सहभागी छन् ।
अमेरिकी सहायता परियोजना एमसीसी सम्झौतालाई टेबल तथा अनुमोदन गर्ने विषयमा निर्णय लिने बैठकलाई निर्णायक मानिएको छ । बैठकले गठबन्धनको भविष्य पनि निर्धारण गर्ने बताइएको छ ।
एमसीसीमा प्रचण्ड र माधव नेपालले नयाँ नयाँ शर्त अघि सारेपछि प्रधानमन्त्री देउवाले एमालेसँग सहकार्य गर्ने मनस्थिति बनाएका छन् । प्रचण्ड र माधवले पारित गर्न सघाउने सहमतिबाट युटर्न हुँदा बुधबार संसदमा एमसीसी टेबल हुन सकेन ।
फागुन ६ गते भोलि बस्ने बैठकमा जसरी पनि टेबल गर्ने प्रधानमन्त्रीको तयारी छ । यसमा सहमत नभए गठबन्धन टुट्ने र सरकार पनि अल्पमतमा पर्ने सम्भावना छ ।